हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण पर्यावरणीय संकटहरु देखिन थालेका छन् । हिमालमा हिउँको मात्रा घट्दै गएको छ ।
हिमालमा हिउँ कम जम्मा भएको र त्यसको स्तर (हिउँरेखा) तल–माथि हुने गरेकोले पर्यावरणीय संकट बढ्दै जान थालेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका (इसिमोड) का वैज्ञानिकहरुले बताएका छन् ।
नेपालमा मुख्यालय रहेको (इसिमोड)ले हालै सार्वजनिक गरेको हिउँ अध्ययन अध्यावधिक रिपोर्ट २०२४ अनुसार हिमालय क्षेत्रमा सन् २०२४ को जाडो याममा सरदरभन्दा कम हिउँ पर्ने र जमिनमा हिउँ रहिरहने समय अवधि पनि घट्ने जनाएको छ ।
हिमालमा हिमस्खलन हुने क्रम बढ्दै जाने तर समयमा हिमपात नहुने र भए पनि अत्यन्त कम मात्रामा हुने गरेकोले केही वर्ष अघिसम्म चाँदी जस्तै टल्कने सेता हिमालहरु पछिल्ला केही वर्षयता काला पहाडमा परिणत हुँदै जान थालेका इसिमोडमा कार्यरत वैज्ञानिक शेर मोहम्मदले उल्लेख गर्नुभएको छ ।
“पानीको बहावको समय र तीव्रतामा व्यापक फेरबदलको संकेत देखिएको छ । यो शोधकर्ता, नीति निर्माता र तल्लो तटीय क्षेत्रमा रहने समुदायहरुका लागि खतराको घण्टी हो ।” वैज्ञानिक मोहम्मदले भन्नुभएको छ ।
इसिमोडका वैज्ञानिकहरुले पानी अभाव, बाढी, खडेरी जस्ता प्राकृतिक प्रकोपबाट जोगिन सक्रिय कदम उठाउनुपर्ने र हरितगृह ग्याँस उत्सर्जन घटाउनुपर्नेमा जोड दिएका छन् ।
हिउँद याममा हिउँ पर्ने क्रम घटेको र हिमालय क्षेत्रको जमिन हिउँ धेरै समयसम्म रहिरहन नसक्ने समस्या देखिन थालेको वैज्ञानिकहरुले बताएका छन् ।
म्याग्दीको मुदीमा रहेको संसारको सातौँ अग्लो धौलागिरि हिमालमा हिउँको मात्रा घट्दै गएको छ । आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल पहिले बाह्रै महिना पूरै हिउँले ढाकिने गरेको भएपनि विगत केही वर्षयता हिमालको तल्लो भाग हिउँविहीन देखिने गरेको म्याग्दीका पर्यटन व्यवसायी चक्रबहादुर तिलिजा पुनले जानकारी दिनुभयो ।
“पहिले धौलागिरि हिम शृङ्खला पूरै हिउँले ढाकिएको हुन्थ्यो, पछिल्ला केही वर्षयता हिमालका तल्लो भाग काला पहाडजस्ता देखिन थालेको छ, जाडो याममा समेत हिमालहरु नाङ्गिएको देखिन्छ,” तिलिजाले भन्नुभयो ।
“हिउँदेयाममा समेत हिउँ नपरेपछि डाँडाकाँडा रूखा र सुक्खा देखिनथालेका छन् भने हिमालहरू कालापत्थरमा परिणत भएका छन् । हिमालको शोभा घटेको छ । पहिले चाँदीझैं टल्कने हिमाल अहिले उराठलाग्दा देखिनथालेका छन्” वन र वातावरणको क्षेत्रमा खोज र अनुसन्धान गर्दै आउनुभएका डिभिजन वन कार्यालय म्याग्दीका वन अधिकृत चन्द्रमणी सापकोटाले बताउनुभयो ।
असोज कात्तिकमा अत्यधिक वर्षा हुनु, मंसिर,पुस र माघ महिनामा पनि कम हिउँ पर्नु, विगतको जस्तो मंसिर, पुस महिनामा हिउँ नपर्नु, पानी नपर्नु, जलवायु परिवर्तनको प्रभाव मान्न सकिने वन अधिकृत सापकोटाको भनाइ छ ।
समयमै हिउँ नपर्दा र हिमाली क्षेत्रमा तापक्रम बृद्धि हुँदा गम्भीर पर्यावरणीय असरहरु देखिन थालेका स्थानीयको भनाइ रहेकोछ ।
“हिमाली क्षेत्रका जमिनमा माटोको अम्लिएपना बढ्दै जाँदा रैथाने बालीहरु लोप हुँदै गएका छन् । जंगली फलफूलको पाक्ने समय परिवर्तन भएको छ । कैयौं वनस्पति र जंगली पशुपंक्षीहरु देखिन छोडेका छन् ।
खोला तथा नदीहरुमा पानीमा मात्रा कम हुँदै गएको छ”हिमाली क्षेत्रको वातावरणीय अध्ययनमा सक्रिय प्रत्युष वाग्लेले भन्नुभयो “हिमाली क्षेत्रको पर्यावरणमा गम्भीर चुनैति उत्पन्न भएको छ ।”
राउण्ड अन्नपूर्ण र धौलागिरि क्षेत्रका हिमालमा हिउँ घट्दै जान थालेको आफूले अनुभव गरेको २० वर्षदेखि पर्यटक पथप्रदर्शकको काम गर्दै आउनुभएका रसुवाका निकेन गुरुङले बताउनुभयो । “हिउँ कम पर्न थालेपछि हिमालहरूको सौन्दर्यता हराउँदै गएको छ । धौलागिरि,अन्नपूर्ण,निलगिरि,गुर्जा,चुरेन लगाएतका हिमालको बिचभागमा समेत हिउँ देखिदैन” उहाँले भन्नुभयो ।
हिमालमा हिमस्खन बढ्ने र हिउँ पर्ने क्रम घट्ने गरेको कारण हिमालहरु हिउँ बिहीन बन्न थालेका मात्र होइन हिमाली खेतीबाली उत्पादनमा कमी आउनाका साथै हिमालको फेदीमा पाइने यार्सागुम्बासमेत पाइन छाडेको हिमाली भेगका वासिन्दाहरु बताउँछन् ।
यस वर्ष सन् २०२४ मा हिउँको मात्रा विगत २० वर्षको औसतको तुलनामा १८.५ प्रतिशतले कमी आएको इसिमोडले जनाएको छ । सन् २०१८ मा हिउँको मात्रा सर्वाधिक कम थियो भने यसवर्ष २०१८ को तुलनामा ०.५ प्रतिशतले मात्रै बढेको इसिमोडको तथ्याङ्कमा उल्लेख छ ।
जल तथा मौसम विज्ञान विभागको हिम सर्भे तथा हिमताल शाखाका अनुसार यस वर्षको हिउँदयाम सुक्खा हुने र हिमालयमा हिउँको मात्रा घट्ने जनाइएको छ ।
हिउँदयाम अर्थात् जाडो महिनाहरुमा भूमध्य सागरबाट आउने जलवाष्पयुक्त हावाले हिमाली क्षेत्रमा हिउँ र तल्लो क्षेत्रमा पानी पार्ने गर्दछ ।
पुसमै फुल्यो लालीगुराँस, बेमौसमै फले जंगली फल
चैत बैशाखमा फुल्ने लालीगुराँस पुसदेखि नै फुलेर म्याग्दीका ग्रामीण जंगलहरु राता देखिन थालेका छन् भने काफल,ऐसेलु जस्ता जंगली फलहरु पनि बेमौसममा नै फल्न शुरु भएको छ ।
फागुनको मध्यतिरबाट कोपिला लाग्न सुरु हुने लालीगुराँस पुसमा नै फुल्नु र जंगली फलहरुको मौसमी चक्र परिवर्तन हुन थालेपछि विश्वमा बढ्दै गएको तापमान अर्थात् जलवायु परिवर्तनको प्रत्यक्ष असरका कारण यस्तो भएको वातावरणविद्हरुले बताएका छन् ।
सधैँजसो फागुन महिनाको तेस्रो सातातिरै फुल्ने लालीगुराँस यस वर्ष पुस दोस्रो सातादेखि नै पश्चिम र उत्तरी म्याग्दीका जंगलहरुमा फुलेको स्थानियहरु बताउँछन् । लालीगुराँस फुलेपछि फागुन र चैतमा वनजङ्गल रङ्गीविरङ्गी हुने र त्यसले सबैको मन लोभ्याउने गर्दछ । “लालीगुराँस फूल फागुन–चैत महिनामा फुल्ने गर्दथ्यो तर केही वर्षयता बढ्दै गएको गर्मीसँगै लालीगुराँस चाँडै फुल्न थालेको छ” ज्यामरुककोटका ६८ वर्षिय रामबहादुर खत्रीले बताउनुभयो ।
लागिगुराँस मात्रै नभएर अन्य फुलसमेत बेमौसममा फुल्न थालेको र अन्नबालीमासमेत यसको प्रभाव देखिएको बेनी नगरपालिका ५ का प्रेम शाहीले बताउनुभयो । “अहिले पुषमा काफल पाकेको र गुरास फुलेको पाइएको छ ।”
वातावरणवीद् सुरज सापकोटाका अनुसार पुसमा गुराँस फुल्नु र बेमौसमी फलफल्नु स्वभाविक प्राकृतिक गुण नभएर वातावरणीय असर हो । विश्वमा बढ्दो तापक्रम बृद्धि र जलवायु परिवर्तनका कारण कतिपय देखिने र धेरै नदेखिने परिवर्तनहरु भैरहेका छन् ।
उहाँका अनुसार जलवायु परिवर्तनका कारण हिमाल,वनस्पति,मानव स्वास्थ्य र महिलाको प्रजनन प्रक्रियामा समेत धेरै परिवर्तनहरु देखिएका छन् ।
त्यसैगरी गर्मी ठाउँमा मात्र पाइने लामखुट्टे हाल उच्च पहाडी र हिमाली भू–भागमा पनि पाइन थालेका छन् । जलवायु परिवर्तनकै कारण महत्वपूर्ण जडीबुटी तथा वनस्पति लोप भइसकेका छन् । साथै पृथ्वीमा समयमै पानी नपर्ने, परेपनि कहिले लगातार परिरहने (अतिवृष्टि) त कहिले पानी नै नपर्ने भइरहेको छ । यसरी कहिले अत्याधिक वर्षा भइ धनजनको विनास हुने त कहिले पानी नै नपरी खेतीबाली तथा वनजंगलनै सुक्ने अवस्था आइरहेको छ ।
जलवायु परिवर्तनकै कारण नयाँ–नयाँ रोगको देखिएका छन् । जुन विश्वकै लागि एक प्रमुख चुनौतिको विषय हो ।
यसको असर बढ्दै जाँदा नेपालको हिमाली क्षेत्रमा पाइने महत्वपूर्ण जडीबुटी यार्सागुम्बा लगायतका वनस्पति पनि लोप हुने खतरा छ ।
पृथ्वीमा वायुमण्डलको तापक्रम, हावाको बहाव र वर्षातमा हुने घटबढका कारण पृथ्वीको कुनै भागमा मौसममा हुने महत्वपूर्ण परिवर्तनै जलवायु परिवर्तन हो ।
पृथ्वीको वायुमण्डलमा खासगरी नाइट्रोजन, अक्सिजन, कार्बनडाइअक्साइड जस्ता ग्यासहरुमा घटबढ भएमा खासगरी जलवायु परिवर्तन हुने मौसमविज्ञहरु बताउँछन् ।
हाल पृथ्वीको वायुमण्डलमा कार्बनडाइअक्साईड, नाइट्रोजन, मिथेन जसता ग्यासहरुको मात्रा दिन प्रतिदिन बढ्दै गइरहेकोले गर्दा वायुमण्डलमा असन्तुलन भइ जलवायु परिवर्तन ल्याउने हतिरगृह ग्यास बढेर जलवायु परिवर्तन हुन्छ ।
जलवायु परिवर्तनका कारण मानव स्वास्थ्यमा समेत गम्भिर असरहरु देखिन थालेका चिकित्सक तथा वातावरण विज्ञहरुले बताएका छन् ।