म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ दोसल्लेकी मायादवी पुनले यस वर्ष सुन्तला विक्री गरेर एकलाख ७० हजार आम्दानी गर्नुभयो ।त्यसैगरी बेनी नगरपालिका ३ की मनकुमारी खत्रीले वार्षिक रु दुई लाख बढी सुन्तला बिक्री गरेर कमाउँदै आएको बताउनुभयो ।
पुन र केसी मात्र होइन पछिल्लो समय सुन्तला खेतीबाट म्याग्दीका ग्रामीण भेगका महिलाहरु स्वावलम्वी बन्दै गएका प्रसस्त उदाहरण छन् । सुन्तला बिक्रीबाट यहाँका महिला किसानले राम्रो आम्दानी गर्दै आएका छन् । सुन्तला बिक्रीबाट राम्रो आम्दानी हुन लागेपछि रहरले सुन्तला खेती गरेका महिलाहरु पनि व्यावसायिक रुपमा सुन्तला खेतीतर्फ आकर्षित भएका हुन् ।
विगतमा यहाँको स्थानीय बजारमा मात्र बिक्री हुने सुन्तला सडकका कारण अहिले धेरै जसो बाहिरका जिल्लामा पुग्न थालेपछि किसानले राम्रो मूल्य पाएका छन् । सुन्तलाको राम्रो बगान भएका र व्यवसायिकरुपमा लागेका किसानले वार्षिक रु एक लाखदेखि आठ लाखसम्म आम्दानी गर्दै आएका छन् ।
यहाँका सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने भए पनि विशेष गरेर बेनी नगरपालिकाको राखु, मरेक, सुर्केमेला,घतान, मंगला गाउँपालिकाको बरङ्जा, भेडाबारी, अर्मन, मालिका गाउँपालिकाको रुन्मा, बिम, ओखरबोट, घवलागिरि गाउँपालिकाको ताकम, रघुगंगा गाउँपालिकाको पिप्ले, भगवती, बेग, दोवा र अन्नपूर्ण गाउँपालिकाको दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा सुन्तला बढी उत्पादन हुने गरेको छ । म्याग्दीमा दुई सय भन्दा बढी सुन्तला बगैँचा छन् ।
म्याग्दीमा विशेष गरी सुन्तला खेतीको रेखदेख र विक्री वितरणको जिम्मेवारी महिलाहरुले लिएका छन् । यहाँका युवाहरु अधिकाँश विदेश भएकाले अरु खेतीपाती झैँ सुन्तला खेती पनि महिलाहरुकै कारण फस्टाएको र यसबाट भएको आम्दानीले महिला स्वावलम्वी बन्दै गएको अन्नपूर्ण गाउँपालिका ७ दोसल्लेकी मायादेवी पुनले बताउनुभयो ।
पुनले सुन्तला विक्री गरेर राम्रो आम्दानी गरिरहेको बताउनुभयो । आफ्नो बगानमा रहेका सुन्तला र बिरुवा बिक्रीबाट वार्षिक रु ५० हजारदेखि दुई लाखसम्म आम्दानी लिने गरेको उहाँको भनाइ छ । “मैले सुन्तला खेतीबाट राम्रो आम्दानी लिँदै आएकी छु ”, कृषक पुनले भन्नुभयो, “व्यावसायिक रुपमा सुन्तला खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ, ।”
सुन्तला खेतीलाई यहाँका महिला किसानहरुको पेन्सनका रुपमा लिन सकिने म्याग्दीका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताउनुभयो । बिरुवा हुर्काएपछि सय वर्षसम्म लाभ लिन सकिने भएकाले यो व्यवसाय वृद्धवृद्धाका लागि बाँच्ने आधार रहेको उहाँको भनाइ छ । “सुन्तला खेती बुढेसकालको सहारा बनेको छ”, उहाँले भन्नुभयो, “एक पटक बिरुवा हुर्काएपछि लामो समयसम्म निरन्तर आम्दानी हुन्छ, सामान्य रुपमा बगानको हेरचाह मात्र गरे धेरै दुःख गर्न पर्दैन ।”
यहाँ उत्पादित सुन्तला बेनी,पोखरा हुँदै काठमाण्डौं र नारायणघाटसम्म पुग्ने गरेको स्थानीय किसानहरुले बताएका छन् । सुन्तला विक्रीबाट आम्दानी लिन थालेपछि महिलाहरुको आम्दानीबाट नै घरखर्च धानिने,छोराछोरीको पढाइ खर्च पुग्ने र वँचेको रकम बैंक तथा वित्तिय संस्थाहरुमा जम्मा गर्ने गरिएको रुन्माकी टीका विकले बताउनुभयो ।
“सुन्तलाबाट हुने आम्दानीले नै घरखर्च,केटाकेटीको पढाइलेखाई पुग्ने भएपछि लोग्नेले विदेशमा कमाएको रकम वचत हुने गरेको छ । रोग विमार लाग्दा र भैपरि आउँदा कसैसँग हात थाप्नुपरेको छैन ” उहाँले भन्नुभयो ।
पश्चिमी र उत्तरी म्याग्दीमा फलेका सुन्तलाको बजारमा राम्रो माग रहेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । बोक्रा पातलो तथा अन्य ठाउँको सुन्तलाको तुलनामा गुलियो हुने भएकाले यहाँका सुन्तलाको बजारमा छुट्टै स्थान रहेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।
यहाँका सुन्तला किसानलाई लक्षित गरेर प्रोत्साहनमूलक काम गरिरहेको स्थानीय जनप्रतिनिधिको भनाइ छ । आगामी दिनमा यसको थप विस्तारका लागि काम गर्ने रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।
म्याग्दीमा यतिबेला बगैँचाबाट सुन्तला टिपेर बजार पठाउन यहाँका महिलाहरु व्यस्त छन् । बेनी, पोखरा, काठमाडौँ, चितवनलगायत ठाउँका व्यापारी सुन्तला खरिद गर्न किसानको बगैँचामै पुगेका छन् । म्याग्दीमा सात सय ६ हेक्टरमा सुन्तला जातका फलफूलको खेती भएको जिल्लास्थित ज्ञान केन्द्रले जनाएको छ। तीन सय ५५ हेक्टरभन्दा बढी जमिनको बोटले उत्पादन दिने गरेको छ ।गतवर्ष तीन हजार नौ सय पाँच मेट्रिक्टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्याङ्क छ ।