घरअगानलाई चारैतिरबाट सुन्तलाको बोटले ढाकेको छ । खोल्सा, भिरालो जमिन र बारीका डिल जताततै सुनजस्तै पहेँलपुर सुन्तला छ । म्याग्दीको बेनी नगरपालिका–३,भकिम्ली मरेककी कर्णकुमारी थापा पुर्जाको घरको आगनबाट जता हेर्यो, उतै सुन्तला छ ।
कुनै समय आर्थिक संकटले गुज्रिएको अवस्थामा घरव्यवहार टार्न सुन्तला खेती गर्दा हाँसोको पात्र बनेकी कर्णकुमारीको बगैचामा पुग्दा मेहनतको फल छर्लङ देखिन्छ। परम्परागत खेतीबाली लगाउन छाडेर १९ बर्ष अगाडी २ सय बोट बिरूवा ल्याएर खेती थालेकी कर्णकुमारीले खेती गरेको पहिलो उत्पादन बेचेर १६ सय कमाउनुभयो ।
अकोबर्ष ३७ सयको सुन्तला बेचेर थप बिरुवा खरिद गर्नुभएकी कर्णकुमारीले ९ रोपनी क्षेत्रफलमा सुन्तला बगैचा फैलिएको छ । कर्णकुमारीको बगैंचामा अघिल्लो बर्ष १० लाख र यसबर्ष १३ लाखको सुन्तला फलेको अनुमान छ ।
कोदो, मकै र अन्य अन्न फल्ने खेतबारीमा सुन्तलाको बोट लगाउँदा भोकै बस्नुपर्ला भनेर बचन लगाउनेहरूले पनि अहिले कर्णकुमारीको सिको गदैं सुन्तलाबाट मनग्य कमाइरहेका छन् ।
गाउँमा पुगेका ब्यापारीले बुधबारदेखि कर्णकुमारीको बारीमा प्रवेश गर्दा यसबर्ष अघिल्लो बर्षको तुलनामा ३ लाख बढी सुन्तला फलेको अनुमान छ ।एकल महिला कर्णकुमारीको बगैंचा ब्यापारीले पहिलो रोजाई रहेको छ ।
‘मेहनत अनुसारको फल दिएको छ, श्रीमान गएपछि मेरो आर्थिक अभाव सबै सुन्तलाको कमाइले पुगेको छ, केही बचत पनि गरेकी छु’ कर्णकुमारीले भन्नुभयो । बि.स २०६७ साल चैत्र महिनामा आंतकारीको आक्रमणबाट अफगानिस्तानमा रहेका श्रीमानलाई गुमाएकी कर्णकुमारीले सुन्तलाको कमाइले घरखर्च चलाउन सहज भएको बताउनुभयो।
घरआगन, पाखामा लटरम्म सुन्तला फल्न थालेपछि अहिले घरखर्च चलाउन कुनै समस्या नभएको कर्णकुमारीको भनाई छ। सुन्तलाखेती कर्णकुमारीको बुढेसकालको सहारा बनेको छ । बिरामी हुँदा र भैपरी आउँदा कसैसँग हात थाप्नुपर्ने अवस्थाको अन्त्य सुन्तलाको कमाईले गरिदिएको छ ।
महिलाले घरखर्च चलाउन श्रीमान, छोराछोरीमाथि निर्भर हुनुपर्ने अवस्थाको अन्त्य गर्न फलफूल र तरकारी खेती गरे पुग्ने कर्णकुमारीको तर्क छ ।मरेकका अगुवा कृषक बिरबहादुर थापाले कर्णकुमारीले पुरुषले भन्दा धेरै सुन्तलाबाट कमाउने गरेको बताउनुभयो ।
‘बिदेशमा कमाउन गएकाले भन्दा बढी उहाँले आफ्नै बारीबाट कमाइरहनुभएको छ, हामी सबैलाई उहाँ प्रेरणाको स्रोत हो’ राप्रपा म्याग्दीका अध्यक्ष समेत रहनुभएका थापाले भन्नुभयो । गाउँमा २२ घरधुरीमा कर्णकुमारीले हरेक बर्ष धेरै सुन्तला उत्पादन गर्नुहुन्छ ।
म्याग्दीमा सुन्तला खेतीबाट आम्दानी गर्ने महिलाको सूचीमा कर्णकुमारीको नाम सबैभन्दा अगाडी आउँछ । एकल महिलाप्रति समाजमा अझै विद्यमान कुरीतिको अन्त्य, विभेदपूर्ण व्यवहार, संस्कार जरैदेखि उन्मूलनको आवश्यकतासँगै कर्णकुमारीले जस्तै आयर्आजनका क्षेत्रमा अगाडी बढ्न सकेमा घरका अन्य सदस्यमाथिको आर्थिक निर्भरता अन्त्य गर्न सकिने म्याग्दी बहुमुखी क्याम्पसकी सहप्राध्यापक रेखाकौशल रेग्मीले बताउनुभयो ।
आर्थिक निर्भरताका कारण पनि समाजमा हिंसा बढ्ने गरेको बताउँदै महिला सामाजिक रुपमा सचेत तथा आर्थिक रुपमा बलियो भए हिंसा घट्ने गरेको तथ्याङ्कले समेत देखाउँछ ।
म्याग्दी जिल्लाको समुद्री सतहबाट एक हजार दुई सय मिटरदेखि एक हजार ६ सय मिटरको उचाइसम्म सुन्तला खेती हुने कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीब बास्तोलाले बेनीअनलाइनलाई बताउनुभयो ।
यसबर्ष ८ सय १० हेक्टरमा लगाइएको बोटमध्ये ४ सय २० हेक्टरबाट फल दिइरहेको छ । म्याग्दीमा यसबर्ष उत्पादन बढेकाले करिब २५ करोडको सुन्तला बिक्री हुने अनुमान कृषि ज्ञान केन्द्रले गरेको छ ।