आठौं म्याग्दी महोत्सवमा आउने पर्यटकलाई लक्षित गरी प्राकृतिक चिकित्सालयको रुपमा ख्याती कमाएको म्याग्दीको बेनी नगरपालिका–४, तातोपानी कुण्ड राती १० बजेसम्म खुल्ने छ । म्याग्दी महोत्सवमा आउने पर्यटकलाई तातोपानी कुण्डमा सोमबारदेखि आगामी माघ ८ गतेसम्म राती १० बजेसम्म खुल्ला गरिएको कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताउनुभयो ।

‘पर्यटकको चापलाई मध्यनजर गरी हामीले महोत्सवअवधिभर कुण्ड खुल्ला गर्नेछौ, कुण्डसम्म आउने पर्यटकलाई स्वागत गर्न आतुर छौ’ अध्यक्ष खड्काले भन्नुभयो ।

महोत्सवमा आउने राष्ट्रिय तथा स्थानीय कलाकारलाई निशुल्क स्नानको सुविधा रहेको तातोापनी कुण्ड ब्यवस्थापन समितिले जनाएको छ। तातोपानी कुण्डमा हरेक सोमबार ‘सन्ध्याकालीन आरती’ सञ्चालन भइरहेको छ ।

सदरमुकाम बेनीबजारबाट नजिक रहेको तातोपानीमा सुविधासम्पन्न होटल श्रेष्ठ हटस्पिङ सहित अन्य दर्जन होटल भएकाले समेत पर्यटकको बसाई समेत सहज हुन्छ । तातोपानीबासीले म्याग्दी महोत्सवमा आउने राष्ट्रियस्तरका कलाकारहरुलाई कुण्डसम्म पुग्ने वातावरण मिलाइदिन समेत अनुरोध गरेका छन् ।

जमिन मूनिबाट ५३ डिग्री सेल्सियससम्मको तापक्रममा बिरेनुनको स्वादसहित निस्कने तातोपानीको कुण्डमा डुबुल्की मारेपछि ग्यास्ट्रिक, बाथरोग, गानोगोला, युरिकएसिड, हार्डजोर्नी दुख्ने, हड्डीको दुखाई, सड्केको, मर्किएको, बज्रिएकोसहित चिसोका कारणबाट उत्पन्न सबै प्रकारका रोगहरु निको हुने जनविश्वास रहेको पाइन्छ । अहिले तातोपानी कुण्डमा दैनिक करिब ४ सयदेखि ५ सय जनासम्म बिरामी, सर्वसाधारण तथा पर्यटकहरुले नियमित रुपमा नुहाउने गरेका छन्।

Leave a Reply