म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकाको बस्ती जोड्ने झोलुङ्घे पुल निर्माणपछि त्यसक्षेत्रका बासिन्दामा खुसीयाली छाएको छ । धवलागिरी-७ धारापानी र मालिका-७ खारा जोड्न म्याग्दी नदीमाथि झोलुङ्घे पुल बनेपछि एक घण्टा भन्दा बढीको यात्रा १५ मिनेटमा छोटिएको छ ।
गैरसरकारी संस्था मिलन म्याग्दीको सामाजिक तथा प्राविधिक परिचालनमा निर्मित झोलुङ्घे पुलमा ८५ प्रतिशत झोलुङ्घे पुल क्षेत्रगत कार्यक्रम, १३ प्रतिशत धवलागिरी गाउँपालिका र २ प्रतिशत स्थानीय उपभोक्ताको जनश्रमदानमा सम्पन्न भएको हो ।
झोलुङ्घे पुल निर्माण भएपछि धवलागिरीको धारापानी, घारा, लुरबाङ, शिवरात्री लगायतका बस्तीका २७४ घरधुरीका १२ सय ३३ जनसंख्या लभान्वित हुने मिलन म्याग्दीकी अध्यक्ष दिलमायाँ विटालुले बताउनुभयो ।
झोलुङ्घे पुलको धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेम पुनले उद्घाटन गदैं भौगोलिक विकटताका कारण आवतजावतमा कठिनाई भएका बस्तीलाई सहज हुने गरी झोलुङ्घे पुल निर्माणलाई समेत प्राथमिकता दिएको बताउनुभयो ।
‘कतिपय ठाउँमा सडक सञ्जालबाट पनि असहज हुन्छ, सुविधाका लागि अझै पनि झोलुङ्घे पुलको आवश्यकता छ’ अध्यक्ष पुनले भन्नुभयो । पुलले स्थानीयको यात्रा छोटिएको छ भने कृषि सहित अन्य घरायसी प्रयोजनका लागि आवश्यक पर्ने सामानको ढुवानीमा समेत सहज भएको मालिका–७ का वडा अध्यक्ष टकलाल पुनले बताउनुभयो ।
चालु आवमा मिलन म्याग्दीमार्फत बेनी नगरपालिका २, मंगला गाउँपालिका १, रघुगंगा गाउँपालिका १, अन्नपूर्ण गाउँपालिका २ र धवलागिरी गाउँपालिकामा १ झोलुङ्घे पुल निर्माणधिनका साथै केही प्रयोगमा आइसकेको छ ।