हेमन्त ऋतुको समय । कठ्याङ्ग्रिने पुस महिनाको चिसो मौसम । बारीभरी पहेँलपुर तोरी फुलिरहेको छ । तोरीको फुलमा बसेर भमरा र मौरीले भने रस चुसिरहेका छन् । तोरी फूलेको खेत र बारीका छेउकुना तथा सडकको दायाँ र बायाँतिर मानिसहरु भुलिरहेका छन् ।
यो दृश्य यतिबेला म्याग्दीको रत्नेचौरमा फूलेको तोरीबारीको हो । उत्तरतर्फ फर्किएर हेर्दा मनोरम हिमश्रृङ्खला देखिन्छ । पूर्वतिर मोहडा भएको र सम्म परेको फाँटमा अहिले पहेँलपुर तोरी फुलिरहेको छ । गाउँको बीचमा कालोपत्रे गरिएको चिल्लो सडक ।
सडकको दायाँ र बायाँको भू-भागमा परम्परागत तथा आधुनिक घरहरु बनेका छन् । तोरी फूलेर पहेँलै बनेको रत्नेचौरको चर्चा पनि जताततै भैरहेको छ ।
समुन्द्री सतहदेखि ७ सय ९२ मिटरको उचाइमा अवस्थित म्याग्दीको बेनी नगरपालिका-१ नम्बर वडामा पर्ने रत्नेचौर गाउँ अहिले तोरी फुलेपछि पहेँलपुर बनेको छ । बेनी-बागलुङ सडकखण्डको बीचमा पर्ने रत्नेचौरका खेत र बारीमा तोरी फूलेर पहेँलै भएको छ भने गहुँ र केराउले हरियाली छाएको छ ।
खेतबारीमा लगाएको तोरी फुलेर रत्नेचौर गाउँ नै अचेल पहेँलपुर बनेको छ । तोरीले पहेँलै तथा गहुँ र केराउले हरियाली भएपछि रत्नेचौर निकै सुन्दर, आकर्षक र मनमोहक देखिएको छ ।
रत्नेचौरबाट संसारको सातौं अग्लो चुचुरो ८ हजार १ सय ६७ मिटर उचाइको धौलागिरी हिमाल देखिन्छ । तोरी फूलेर पहेँलै बनेको रत्नेचौरमा खेतको बीचमा रहेको सडकमा कालोपत्रे गरिएपछि देखिएको चिल्लो सडकले थप आकर्षण थपेको छ ।
रत्नेचौर-ज्यामरुककोट-भकिम्ली हुँदै बराङ्जा जोड्ने सडकखण्डको १८ सय मिटर सडकमा पूर्व सांसद भूपेन्द्रबहादुर थापाको पहलमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको आर्थिक वर्ष २०७५-०७६ मा चार करोडको बजेटबाट कालोपत्रे र ढलान गरिएको थियो ।
पहेँलै फुलेको तोरी र गाउँको बीच भागमा गरिएको कालोपत्रे सडक चिल्लो देखिँदा थप रौनकता बढेको हो । अहिले तोरी फूलेर पहेँलपुर बनेपछि रत्नेचौरको तोरी बारीमा पुगेर फोटो, भिडियो खिच्ने र रमाउने युवायुवतीहरुको दिनहुँ भीड लाग्ने गरेको छ ।
म्याग्दीको विभिन्न स्थानसहित बागलुङको कुँडुले, उपल्लाचौर, पर्वतको धाईरिङ, मिलनचोक, कुश्मालगायत ठाउँबाट पर्यटकहरु पुग्ने गरेका छन् । विदाको दिन र शनिबारको दिनमा धेरै पर्यटकहरु तोरी बारीमा फोटो खिच्न र रमाउन आउने गरेको भानु माध्यमिक विद्यालय रत्नेचौरका पूर्व प्रधानाध्यापक भरत खत्रीले बताउनुभयो ।
फराकिलो र सम्म परेको फाँट, रत्नेचौर–कुडुँले जोड्ने झोलुङ्गे पुल, खुलाचौर, खाने, बस्ने ठाउँ तथा पहेँलपुर तोरी फुलेको कारण धेरै पर्यटकहरु रत्नेचौरमा घुम्न पुग्छन् ।
रत्नेचौरको तोरी बारीमा विदाको दिन र शनिवार करिब ५ सयभन्दा बढी पर्यटकहरु आउने गरेको स्थानीयवासी बताउँछन् । तोरी फूलेपछि स–साना बालबालिकादेखि अधबैंसे उमेर समूहका मानिसहरु रत्नेचौर पुगेर तोरी बारीमा रमाएका छन् ।
उनीहरु त्यहाँ पुगेर फोटो, भिडियो र सेल्फी खिच्ने तथा टिकटक बनाउँछन् । तोरी फूलेको कारण कालोपत्रे गरेको चिल्लो सडक समेत ‘भाइरल रोड’ बनेको छ ।
वरिपरीको हरियाली तथा मुसुक्क मुस्कुराइरहेको धौलागिरि हिमालको दृश्यका साथै समथर फाँटको पहेँलपुर तोरीले पर्यटन प्रवद्र्धन गर्नुका साथै स्थानीयको व्यापारमा पनि सघाएको छ ।
तोरी फूलेर पहेँलै भएपछि साथीहरुसँग रत्नेचौरको भ्रमण गर्न पाउँदा आफूलाई निकै आनन्दको अनुभूति मिलेको आन्तरिक पर्यटक सङ्गीता अधिकारीले अनुभव सुनाउनुभयो ।
रत्नेचौर पुगेका पर्यटकले फोटो खिचेर सामाजिक सञ्जालमा पोष्ट्याउने, इन्स्टाग्राम, टिकटक र रिल्समा भिडियो बनाएर पोष्ट गर्न थालेपछि तोरीबारी तथा पिचरोडसहित रत्नेचौरको गाउँ पनि भाइरल गाउँको रुपमा रुपान्तरण भएको छ ।
रत्नेचौरमा पछिल्लो केही वर्षयता आन्तरिक पर्यटकहरुको चहलपहल ह्वात्तै बढेको छ । पहेँलै फूलेको तोरीको कारणले दृश्यावलोकन गर्न र फोटो तथा भिडियो खिचेर रमाउन पाइने भएपछि पोखरा, काठमाडौं, चितवन, बुटवललगायत ठाउँबाट समेत पर्यटकहरु रत्नेचौरको भ्रमणमा आउन थालेका छन् ।
रत्नेचौरमा पहिलेदेखि नै तोरी उत्पादन हुँदै आएको थियो । मौरीपालन तथा मह उत्पादनका लागि उपयुक्त मानिने तोरीको सागलाई तरकारीको रुपमा समेत प्रयोग गर्ने गरिन्छ । ग्रामीण भेगमा फुलेको तोरीले गाउँको सुन्दरतामा निखारपन ल्याउँछ ।
मिलमा पिँधेर बनाइने तोरीको तेल तथा त्यसबाट निस्कने पिनालाई मानिसको कपालमा पर्ने चायाँ हटाउन पिनाले नुहाउने गरिन्छ । तोरीकै कारण रत्नेचौर गाउँ भाइरल बनेपछि यहाँको पर्यटन प्रवर्द्धनका लागि आवश्यक पहल थालिएको रत्नेचौरका वडा अध्यक्ष टेकबहादुर थापाले बताउनुभयो ।