म्याग्दीको सदरमुकाम बेनीमा आयोजित उत्कृष्ट प्रजनन योग्य बोका प्रर्दशनी तथा प्रतियोगितामा १ सय १ किलो तौल भएको बोयर बोका प्रथम भएको छ ।
आठौं म्याग्दी महोत्सवको अवसरमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आयोजना गरेको प्रतियोगितामा बेनी नगरपालिका वडा नं २ खवराका कर्णबहादुर खड्काको १ सय १ केजी तौलको बोयर बोकाले नगद १५ हजार र प्रमाणपत्र प्राप्त गरेको छ । प्रर्दशनीमा बेनपा–३, भकिम्लीका धन श्रीष र बेनपा–५, तिप्लेटीका गोपाल खत्रीले क्रमश द्धितिय र तृतिय पुरस्कार १० हजार, ५ हजार नगद र प्रमाणपत्र प्राप्त गर्नुभएको थियो ।
पशु प्रदर्शनीमा ल्याएका बोकाको तौलसँगै प्रजनन योग्य क्षमता सहित अन्य विभिन्न मापदण्डको आधारमा बेनी नगरपालिकाका पशु शाखा प्रमुख डा. आशिष सापकोटा,भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सुवास रेग्मी र सुर्दशन श्रेष्ठको मुल्याङ्कनमा छनौट गरिएको थियो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. भरत रेग्मीले म्याग्दीमा रहेका बाख्रापालक कृषकहरूलाई प्रोत्साहन गर्न उक्त प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। म्याग्दीमा बोयर बाख्रा पालनमा सक्रिय रहेका पशुपालक कृषकहरुले देशका विभिन्न जिल्लामा बिक्री गरी मनग्य आम्दानी गर्नुभएको छ ।