सुविन श्रेष्ठ
अध्यक्ष, म्याग्दी उद्योग वाणिज्य संघ
आजदेखि म्याग्दीको सदरमुकाम बेनीमा आठौं म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेला तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०८१ सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको मूल आयोजना, जिल्ला समन्वय समिति म्याग्दी, बेनी नगरपालिका, अन्नपूर्ण, रघुगंगा, मंगला, मालिका र धवलागिरि गाउँपालिका, जलजला गाउँपालिका पर्वतसहित गण्डकी प्रदेशका सबै स्थानीय पालिकाहरु, गण्डकी प्रदेशका सम्पूर्ण जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरु आयोजकको रुपमा रहेका छन् ।
यसैगरी सहयोगी संस्था गण्डकी प्रदेश सरकार र नेपाल पर्यटन बोर्ड प्रवद्र्धक रहेको आठौं संस्करणको म्याग्दी महोत्सव आजदेखि सुरु भई माघ ८ गतेसम्म (१० दिन) म्याग्दीको सदरमुकाम बेनीबजारस्थित खुलामञ्चमा आयोजना गरिएको छ । महोत्सवको पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले एक समारोहबीच उद्घाटन गर्नुभयो ।
‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नाराको साथमा ‘बेनीबजार जाऔं महोत्सवमा रमाऔं, आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धन गरौं’ भन्ने थप नारा पनि बनाइएको छ । यसै सिलसिलामा म्याग्दीको सदरमुकाम बेनीको खुलामञ्चमा सुरु भएको आठौं म्याग्दी महोत्सवको लक्ष्य, उद्देश्य, आकर्षणहरु, यसले पार्ने आर्थिक–सामाजिक प्रभाव, स्थानीय उत्पादनको प्रदर्शनी तथा बजारीकरणलगायत समग्र विषयहरुमा केन्द्रीत रहेर म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष एवं आठौं म्याग्दी महोत्सवका मूल संयोजक सुविन श्रेष्ठसँग प्रताप बानियाँले गरेको कुराकानीको सम्पादित अंशः
महोत्सव आयोजना गर्नुको मुख्य उद्देश्य के हो ?
यसपालि आठौं संस्करणको म्याग्दी महोत्सव आयोजना गर्नुको प्रमुख उद्देश्य म्याग्दीमा भएका सबै खालका सम्भावनाहरुको महोत्सवको माध्यमबाट उजागर गर्नु रहेको छ । महोत्सव भन्दाबित्तिकै मनोरञ्जन, खेलकुद, गीतसङ्गीत मात्रै होइन, महोत्सवको माध्यमबाट हामीले म्याग्दी जिल्लामा भएका विभिन्न सम्भावनाहरुको उजागर गर्न खोज्दैछौं । म्याग्दी जिल्लामा भएका जलविद्युत, खानीहरु, वनपैदावर, कृषि उत्पादन, जडिबुटीलगायत विभिन्न उत्पादनहरुको स्टलबाट प्रदर्शनी पनि गर्दैछौं । यसपालिको महोत्सवमा हामीले ६ वटै स्थानीय तहको छुट्टाछुट्टै स्टलहरुको व्यवस्था गरेका छौं । ती स्टलहरुमार्फत ६ वटै पालिकाहरुमा भएका उत्पादनहरुलाई प्रदर्शनीमा राखेर प्रचारप्रसार गर्ने, बजारीकरणमा सहयोग पु¥याउने र त्यहाँको सम्भावनाका विषयहरुलाई पनि स्टलको माध्यमबाट देखाइने हुँदा महोत्सवमार्फत समग्र रुपमा म्याग्दी जिल्लाको सम्भावनालाई उजार गर्ने उद्देश्य हो ।
महोत्सवका मुख्य आकर्षणहरु के–के हुन् ?
विगतका महोत्सवमा जस्तै आठौं म्याग्दी महोत्सवमा पनि खुल्ला लोकदोहोरीगीत प्रतियोगिता, गण्डकी प्रदेशको पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल, बास्केटबल तथा व्याडमिन्टन, खुल्ला रत्यौली, पुख्र्यौली नृत्य, भजन प्रतियोगिता, म्याग्दी आईडल एकल लोकनृत्य प्रतियोगिता, विभिन्न जातजाति तथा जनजातिहरुको उत्कृष्ट भेषभूषा प्रदर्शनी, झाँकी प्रदर्शन, बजार सजावट प्रतियोगिता, महिला–पुरुष छेलो फ्याँक्ने, लठो तान्ने, स्थानीय उत्पादनहरुको उत्कृष्ट स्टल प्रतियोगिता, विद्यालयस्तरीय परम्परागत हस्तकला तथा विज्ञान र नवप्रवर्तन प्रविधि प्रदर्शनी, कृषि उपजहरुको प्रदर्शनी र प्रतिस्पर्धा, कालीगण्डकी नदीमा ¥याफ्टिङ, वनपैदावरको प्रदर्शनी तथा हेली शेयर एवं लभ्लीहिलसम्म घोडा सयरलगायत प्रतियोगिताहरु र कार्यक्रम आकर्षणको रुपमा रहेका छन् । यसका साथै महोत्सव अवधिभर प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बजोड प्रस्तुती समेत रहनेछ ।
महोत्सवमा खासगरी के–के विषयहरुलाई प्राथमिकतामा राखिएको छ ?
म्याग्दीमा वि.सं. २०५९ सालदेखि माघेसङ्क्रान्ति मेला र २०६० सालबाट म्याग्दी महोत्सव आयोजना हुँदै आइरहेको सबैलाई जानकारी नै छ । आठौं म्याग्दी महोत्सवसम्म आइपुग्दा महोत्सवमार्फत जिल्लाको जलविद्युतको सम्भावनालाई उजागर गर्ने, पर्यटन क्षेत्रको प्रचारप्रसार, कला–संस्कृति र भेषभूषाको संरक्षण तथा प्रदर्शनी, खानीहरुको जानकारी, विभिन्न जातजाति तथा जनजातिहरुको कला प्रदर्शन, विज्ञान प्रदर्शनी तथा नवप्रवर्तनका कार्यक्रमहरु हुनेछन् ।
साथमा म्याग्दी जिल्लाको विकासका सहयोग पु¥याउनको लागि खासगरी कृषि, पर्यटन, जडिबुटी र स्थानीय उत्पादनहरुलाई प्राथमिकताका साथ निःशुल्क रुपमा स्टलको सुविधा दिएर प्रदर्शनीमा राखिएको छ । महोत्सवस्थल परिसरमा जिल्लाको ६ वटै पालिकाहरुमा उत्पादन भएका कृषि उपजहरु, अल्लो पुवाबाट बनेका विभिन्न उत्पादन, ढाकाका कपडा, वनपैदावर, जडिबुटीलगायत रहेका छन् ।
महोत्सवमा निर्धारण गरिएको टिकटको मुल्य महंयो भयो भन्ने गुनासो छ, यसलाई कसरी लिनुहुन्छ ?
पक्कैपनि टिकट शुल्कका बारेमा गुनासो आएको छ । हामीले टिकटबाट प्राकृतिक विपत्तीमा परेकालाई, बालगृह, म्याग्दी पुस्तकालय, नेपाल पत्रकार महासंघ, ब्यवसायीक हित कोष लगायत विभिन्न संघसंस्थालाई समेत वितरण गदैंछौ । हामीले जेष्ठ नागरिक, अपाङ्ता भएकालाई सतप्रतिशत छुट, दिर्घरोगीलाई समेत सहज हुने गरी ब्यवस्थासँगै विद्यार्थीलाई ५० प्रतिशत छुट गरेका छौ । बेलुकीको समयको टिकटका बारेमा गुनासो आएको छ । हामीले उक्त बिषयमा पनि आवश्यक छलफल गछौं । टिकटको ठूलो हिस्सा सामाजिक तथा मानवीय सेवामा सक्रिय रहेका संघसंस्थालाई नै सहयोग गर्ने भएकाले सकारात्मक रुपमा लिइदिनुहुन सबैमा अनुरोध गर्दछु ।
महोत्सव अवलोकनका लागि प्रवेश गर्ने टिकटको व्यवस्थापन कसरी गर्नुभएको छ ? टिकटबाट प्राप्त हुने आम्दानी कहाँ लगानी गर्ने गरिएको छ ?
महोत्सव उद्घाटनको पहिलो दिन पुस २८ गते साँझ राष्ट्रिय कलाकारको प्रस्तुती रहेपनि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । तर महोत्सवको दोस्रो दिन पुस २९ गतेदेखि भने दिनमा ५ बजेसम्मका लागि एकसय र त्यसपछि दुईसय तथा पाँचसय रुपैयाँको दरका टिकटहरु तयार गरिएको छ ।
विद्यार्थीहरुका लागि भने दिनमा ५० रुपैयाँ र साँझमा एकसय रुपैयाँको छुटसहित टिकटको व्यवस्था गरिएको छ । रु. पाँचसयको टिकटले एक दिनमा दुई पटकसम्म भित्र आवतजावत गर्न पाइनेछ । साथै ७० वर्ष उमेर नाघेका ज्येष्ठनागरिकहरुका लागि भने प्रवेशका लागि निःशुल्क रहेको र उहाँहरुलाई बस्नको लागि कुर्सीको समेत व्यवस्था गरिएको छ भने फरक क्षमता भएकालाई पनि निःशुल्क रुपमा स–सम्मान भित्र लगेर महोत्सव अवलोकन गराइनेछ ।
यसैगरी कोही आर्थिक रुपमा विपन्न र पैसा तिरेर महोत्सव अवलोकन गर्न नसक्नेहरुका लागि पनि निःशुल्क रुपमा खुलामञ्च प्रवेश गर्ने व्यवस्था मिलाइनेछ । टिकटबाट प्राप्त हुने आम्दानीलाई विगतका वर्षहरुमा जस्तै यसपटक पनि पत्रकार महासंघ म्याग्दी, म्याग्दी बालगृह, म्याग्दी सामुदायिक पुस्तकालय, म्याग्दी उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी हितकोष र विपद् व्यवस्थापन कोषमा क्रमशः जम्मा गरिनेछ । टिकटवापतको रकम सामाजिक क्षेत्रमा लगानी गर्ने गरिएको छ ।
विगतका महोत्सव र यसपालिको महोत्सवमा के फरक छ ? यसपटक भिन्न कार्यक्रमहरु के–के रहेका छन् ?
आठौं म्याग्दी महोत्सवमा पनि विगतका महोत्सवहरुमा जस्तै विभिन्न प्रतियोगिता र कार्यक्रमहरुलाई निरन्तरता दिएका छौं । यसपालिको महोत्सवमा कला संस्कृतितर्फ भजन प्रतियोगिता थप गरेका छौं ।
म्याग्दी जिल्लामा उत्पादन भएका कृषि, लघु, घरेलु उत्पादनहरुलाई निःशुल्क रुपमा स्टलमा राखेर बिक्री, वितरण तथा प्रदर्शनी र बजारीकरणको व्यवस्था मिलाएका छौं । म्याग्दीमा भएका जति पनि स्थानीय उत्पादनहरुले बजार पाओस् भनेर स्टलको व्यवस्था गरेका हौं ।
पालिकाहरुको छुट्टाछुट्टै स्टलमार्फत स्थानीय उत्पादनहरुको स्टल तथा विद्यालयहरुको बीचमा प्रतिस्पर्धा गर्नेगरी विज्ञान प्रदर्शनी तथा नवप्रवर्तनका कार्यक्रमहरु तय गरिएको छ । साथै ‘म्याग्दी घुम्न जाऔं’ भन्नको लागि जिल्लाको ६ वटै स्थानीय तहको पर्यटकीय क्षेत्रको चारपाँच मिनेटको दरले पर्यटकलक्षित वृत्तचित्र १०÷२० साइजको ठूलो स्क्रिनमार्फत देखाउने तयारी गरेका छौं ।
आठौं म्याग्दी महोत्सवको मुख्य प्रायोजक र सह–प्रायोजक के, कति छन् ?
आठौं म्याग्दी महोत्सवको मुख्य प्रायोजकको रुपमा यसपटक प्रभु बैंक लिमिटेड रहेको छ । प्रायोजकहरुमा धौलागिरि कालिका हाईड्रो लिमिटेड, गोर्खा ब्रुअरी, सनसोजु लोटे कम्पनी (विनोद कुँबर), गरिमा विकास बैंक, सहप्रयोजकमा धर्मनारायण इन्टरप्राईजेज, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, जय शवानी अफ ग्रुप कम्पनी, धौलागिरि अधिकृत बिक्रेता संघ, मोना अस्टेलियालगायत रहेका छन् ।
यो महोत्सवबाट आम जिल्लावासीले के अपेक्षा गर्लान् ?
म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गर्दै आइरहेको हरेक पटकका मेला, महोत्सवले जिल्लाको धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रहरुको उजागर गर्न महत्वपूर्ण सहयोग पुगेको देख्न सकिन्छ । महोत्सवले जिल्लाभित्र रहेका विभिन्न खानी, जडिबुटी, वनपैदावरको उत्खनन्, बजारीकरण तथा प्रचारप्रसार गर्नुका साथै स्थानीय एवं अर्गानिक उत्पादनहरुको बिक्री, वितरणमा ठूलो सहयोग पु¥याएको छ । तसर्थ, अहिलेको महोत्सवले पनि म्याग्दीको पर्यटन क्षेत्रमा, जिल्लाको विभिन्न सम्भावनाको क्षेत्रमा लगानी गर्ने वातावरण निर्माणमा सहयोग पु¥याउनुका साथै महोत्सवको माध्यमबाट जिल्लाको सम्भावनाहरुलाई उजागर गर्नेछ ।
पछिल्लो समय म्याग्दीमा आन्तरिक पर्यटक बढ्दै गैरहेको हुँदा महोत्सवमा वृत्तचित्र र फोटो प्रदर्शनीको पनि आयोजना गरिएको छ भने म्याग्दीमा धिमा गतिमा निर्माण भैरहेका विभिन्न योजना तथा आयोजनाहरुको बारेमा महोत्सवको माध्यमबाट नेपाल सरकारलगायत सम्बन्धित निकायलाई झकझकाउन पनि महोत्सवले सघाउनेछ । म्याग्दीको सम्भावनाका क्षेत्रहरुमा स्वदेश तथा विदेश र निजी क्षेत्रबाट लगानी गर्नका लागि आवश्यक वातावरण निर्माणमा म्याग्दी महोत्सवले सहयोग पु¥याउने अपेक्षा गर्न सकिन्छ ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
म्याग्दी महोत्सव हामी सबैको महोत्सव हो । म्याग्दी उद्योग वाणिज्य संघ मूल आयोजक रहेको भए पनि स्थानीय पालिकाहरु, उद्योग वाणिज्य संघलगायत नेपाल सरकार तथा प्रदेश सरकार सहयोगी संस्थाहरु हुन् । म्याग्दी महोत्सवलाई सफल बनाउन आम म्याग्दीवासीहरुको सहयोगको आवश्यकता रहेको छ । सबै क्षेत्रबाट महोत्सव सफलतापूर्वक सम्पन्न गर्न उत्साहजनक सहयोग प्राप्त भैरहेको छ ।
त्यसैले यसपालिको आठौं म्याग्दी महोत्सवमा पनि विगतमा जस्तै यहाँहरु सबैले सहयोग गर्नु नै हुनेछ । महोत्सवलाई थप व्यवस्थित बनाउन यहाँहरुबाट सल्लाह, सुझावको हामी अपेक्षा गर्दछौं । अन्तमा म्याग्दी महोत्सव अवलोकन गर्नका लागि यहाँहरु सबैलाई चुले निम्तोसहित हार्दिक स्वागत छ । आउनुहोस् म्याग्दी महोत्सव अवलोकन गर्नुहोस्, सफल बनाउनुहोस् । धन्यवाद !