छोटो र पारिवारिक जलयात्राका लागि आर्कषक गन्तब्य मानिने कालीगण्डकी नदीको म्याग्दी खण्डमा जलयात्रा सुरू गरिएको छ । म्याग्दी र कालिगण्डकी खण्डमा जलयात्राको प्रचुर सम्भावना रहेको अवस्थामा गलेश्वर, जलेश्वर हुदै कालिपुलबाट म्याग्दी र कालिगण्डकीको संगमस्थल र मालढुंगासम्म जलयात्रा सुरु गरिएको हो ।
आठौं म्याग्दी महोत्सवको अवसरमा अवलोकन लागि आउने र जलयात्राका पारखीलाई लक्षित गरी कालीपुलमा गण्डकी होटलका सञ्चालक गम पुनको पहल र सक्रियतामा रिभर एडभान्चरले बुधबारदेखि औपचारिकरूपमा सञ्चालनमा ल्याएको हो । कालीगण्डकी नदीमा र्याफ्टिङ सञ्चालनमा आएसँगै जिल्लामा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई समेत सहज हुने होटल ब्यवसायी गम पुनको भनाई छ ।
कालीगण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन् । कालीगण्डकी नदीको जलयात्राका साथै पहाडी भूगोल र तटीय क्षेत्रका बस्तीको अवलोकनले थप रोमाञ्चक गराउन सकिने गाइड सन्तोष गिरीको भनाई छ ।
म्याग्दीबाट नयाँ पुल हुँदै मिर्मी सम्म पनि जलयात्रा गर्न सकिन्छ । बेनीबाट मिर्मी तीन दिनको यात्रामा पुग्न सकिन्छ ।म्याग्दी र कालिगण्डकी नदीमा दुर्घटनाको जोखिम कम र पानीको बहाव राम्रो भएकाले पनि बालबालिकादेखि बृद्धबृद्धासम्मले जलयात्रा गर्न सकिन्छ । पहिलोपटकको जलयात्रा निकै अविस्मरणीय भएको पर्यटन विज्ञ तेज गुरुङले बताउनुभयो ।
बेनीदेखि मालढुङा, नयाँ पुल हुँदै मिर्मी सम्म पुग्न तीन दिन जलयात्रा गर्नुपर्दछ र्। याफ्टिङको प्रबद्र्धन गर्न सके आन्तरिक पर्यटकका लागि पर्यटनको ‘हव’ बनाउन सकिन्छ ।
पछिल्लो समय नदीमा पानीको सतह घट्दै गएको र छाल समेत नभएकाले विदेशी पर्यटक घटेका छन् । कालिगण्डकी करिडोर विस्तार, क्रसर उद्योग सहित ग्रामिण क्षेत्रमा सडक विस्तारसँगै नदीले धार परिवर्तन गर्दा जलयात्रा सञ्चालनमा भने कठिनाइ भइरहेको छ ।