म्याग्दीको सदरमुकाम बेनीमा जारी आठौं म्याग्दी महोत्सव, माघे संक्रान्ति मेलामा म्याग्दी बहुमुखी क्याम्पसमा बिएड दोस्रो बर्षमा अध्ययनरत अस्मिता भण्डारीले नियमित चिया बनाएर बेच्नुहुन्छ ।
महोत्सवमा स्टल नं १३० नम्बरमा अस्मितासँगै क्याम्पसमा बिएड चौथो बर्षमा अध्ययनरत एलिसा बरुवाल,एमविएस चौथो सेमेस्टरकी सुजता खत्री, विविएस चौथो बर्षका सुजता पौडेल, विविएस तेस्रो वर्षका ढक बहादुर भण्डारी विविएस दोस्रो वर्षकी अनुका वानियाँले स्टलमा आउने ग्राहकलाई चिया, नास्ता, फलफुल पुर्याउन हतारिन्छन् ।
महोत्सवस्थलमा विद्यार्थीले आफ्नो घरमा उत्पादन गरेको साम्रागीहरू समेत बिक्री गरिरहेका छन् । म्याग्दी बहुमुखी क्याम्पसले पढाइसँगै कमाउने सिप हस्तान्तरण गर्ने गरी विद्यार्थीहरुको लागि उद्यमशिलता विकास कार्यक्रममा सहभागि भएका विद्यार्थीहरूको सक्रियतामा सञ्चालित स्टलले विद्यार्थीहरुको लागि उद्यमशिलतामा लाग्न प्रोत्साहन समेत गरेको छ ।
बेनी नगरपालिका–५,डडुवामा मौरीपालन गर्ने एमबिएस चौथो सेमेस्टरमा अध्ययनरत सुजता खत्रीले घरमै उत्पादन गरेको महको प्रर्बधन र अन्नपूर्ण गाउँपालिका–४,नारच्याङमा आफ्नै प्रयासमा गरेको सुन्तलालाई बिएड चौथो बर्षमा अध्ययनरत बिशाल बिकले स्टलमै ल्याएर बिक्री गरिएको छ ।
महोत्सवमा बिक्री वितरणसँगै ग्राहकसँग कसरी घुलमिल हुने, ग्राहकको रोजाई लगायत विभिन्न पक्षमा जानकारी लिने अवसर मिलेको विद्यार्थी विकको भनाई छ ।
प्रभु वैंकको आर्थिक सहयोगमा विद्यार्थीहरुमा उद्यमशिलता विकास गर्न आइडिया स्टुडियो नेपाल र म्याग्दी बहुमुखी क्याम्पस वीच भएको सहकार्यको सम्झौतामा सञ्चालित तालिममा सहभागि भएकामध्ये विद्यार्थीहरुमा व्यवसायिक सोचको विकास गरी आत्मनिर्भर वनाउनको लागि पाँच सदस्य भएको उद्यमशिलता क्लव २०८१ समेत गठन गरिएको थियो ।
क्लवमा सुजता खत्री एमविएस चौथो सेमेस्टर, सुजता पौडेल विविएस चौथो बर्ष, ढक बहादुर भण्डारी विविएस तेस्रो वर्ष, अस्मिता भण्डारी विएड दोस्रो वर्ष र अनुका वानियाँ विविएस दोस्रो वर्ष रहेका छन् ।
उद्यमशिलता सोच, योजना र कार्यान्वयनको भावना विकास गर्न विद्यार्थीलाई सघाउने गरिएको म्याग्दी बहुमुखी क्याम्पसका उपप्रध्यापक विष्णुप्रसाद आचार्यले बताउनुभयो । विद्यार्थीको प्रोत्साहनका लागि क्याम्पस प्रमुख श्रीधर सुवेदीले समेत चिया बनाएर सघाउनुभएको छ ।
क्याम्पसका सूचना अधिकारी तथा सहायक क्याम्पस प्रमुख नारायण प्रसाद सुवेदी, पुर्व क्याम्पस प्रमुख रामजीप्रसाद सुबेदी, क्याम्पस सञ्चालक समितिका सदस्यहरूले समेत स्टलको अवलोकन गर्नुभएको छ ।
म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले विद्यार्थीलाई ब्यवसायिक योजना र कार्यान्वयनमा तालिममा समेत सहभागि भएर जानकारी दिइएको र आगामी दिनमा समेत सघाउने बताउनुभयो ।
विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ३ महिना भन्दा बढी उद्यमशीलता तालिम र स्थलगत भ्रमण लगायतका कार्यक्रम सञ्चालन गरी तयार पारिएका उत्कृष्ट पाँचवटा व्यवसायिक योजनाहरु प्रतिस्पर्धाको लागि विश्वविद्यालय अनुदान आयोगमा समेत पठाएको छ ।