म्याग्दीको सदरमुकाम बेनीबजारस्थित खुलामञ्चमा मालिका गाउँपालिका–३, रूमको रेन्बो ट्राउट माछा, भिरमह, सिलाजित लगायतका जडिबुटी समेत पाइन्छ । म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा सञ्चालित आठौं संस्करणको म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेलाको अवसरमा कृषिजन्य स्थानीय अर्गानिक उत्पादनहरुको बिक्री, वितरणसहित प्रदर्शन गरिएको छ ।
महोत्सव लगाइएको बेनीको खुलामञ्च परिसरभित्र बेनी नगरपालिका, अन्नपूर्ण, रघुगंगा, मंगला, मालिका र धवलागिरी गाउँपालिकामा उत्पादित कृषि, घरेलु तथा सामूहिक उत्पादनहरुको प्रदर्शन गरिएको छ ।
म्याग्दीमा जल, जमिन, जंगलभित्र पाइने सबै अर्गानिक तथा जडिबुटी अल्लो र त्यसबाट निर्माण गरिने सामग्री रहेको छ । अल्लोबाट निर्माण गरिएका सामग्रीको माग बढ्दै गएपछि म्याग्दीमा महिला उद्यमीहरूले अल्लो र ढाकाका साम्रगी बिक्री गरिरहेका छन् ।लेकाली साग, ढकायो,च्याउ,सिल्टीमुर, भटमास,चरेलाको सुकुटी, मुलाको धजरा,सिन्की, अल्लो र ढाकाको कपडा बढी बिक्री भएको छ ।
महोत्सवको मूल आयोजक संस्था म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले यसपटक म्याग्दीमा उत्पादिन बस्तुहरूको स्टलबाटै धमाधम बिक्री समेत भइरहेको बताउनुभयो।
स्थानीयस्तरमा उद्यमीहरुले उत्पादन गरेका अर्गानिक कृषिजन्यतथा सुन्तलाजात फलफुलहरु प्रदर्शनीसँगै बिक्रीवितरणमा समेत आवश्यक समन्वय भइरहेको ंमहोत्सवका मूल संयोजक सुविन श्रेष्ठको भनाई छ । स्थानीय उत्पादनहरुको बिक्री, वितरण र प्रदर्शन गर्नको लागि म्याग्दी उद्योग वाणिज्य संघले निःशुल्क रुपमा स्टल उपलब्ध गराएको छ ।
सरकारी तथा गैरसरकारी संस्थामार्फत तालीम लिएर उद्यमी बनेका अधिकांशले उत्पादनले बजार पाउन थालेपछि अन्य घरायसी कामसमेत छोडेर अल्लो र ढाकाका सामग्री बनाउने तथा अर्गानिक उपभोग्य बस्तु बिक्री गर्ने गरिएको अन्नपूर्ण गाउँपालिका–८,राम्चेकी अगुवा महिला राममायाँ पुनले बताउनुभयो । महोत्सवस्थलमा स्थानीय तहहरूहरुको स्टलमा अधिकांस महिला उद्यमीहरू नै हुनुहुन्छ ।