बिच भलिबलमा नेपाल पुलिस क्लबकी महिला कप्तान कमला पुनको टोलीले बचस्व कायम गरेको छ । सातौं राष्ट्रिय बिच भलिबल प्रतियोगितामा कमला पुन र मनिषाको जोडीले आफ्नै क्लबका पुनम चन्द र कामना विष्टको जोडीलाई शनिवार २–० को सेटमा हराउँदै च्याम्पियन बन्नुभयो ।
सिन्धुपाल्चोकको चौतारा सागाँ चोकगढी नगरपालिकाको सुकुटेस्थित भोटेकोशी बिच रिसोर्टमा कमला र मनिषाको जोडी २१–१९, २१–१० ले विजयी भएको हो। राष्ट्रिय तथा अन्तराष्ट्रि बिच भलिबलमा कमला पुनको कप्तानीमा पछिल्ला बर्षहरुमा रित्तो हात फर्किन परेको छैन ।
कमलाको कप्तानीमा मनिषासँगैको जोडीले गत साउनमा भुटानमा भएको काभा बिच भलिबलमा स्वर्ण पदक जितेको थियो भने असोज महिनामा माल्दिभ्समा भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स क्लब च्याम्पियनसिपको उपाधि जितेको थियो । विभागीय टोलीको महिला कप्तान पुनको अविस्मरणीय खेलले नै नतिजा आफ्नो पोल्टामा पार्ने गरेको छ।
दुई वर्षअघि बंगलादेशको कक्स बजारमा भएको एभिसी सेन्ट्रल जोन बिच भलिबलमा नेपालका पुरुष र महिला टोली दुवैले रजत पदक जितेपनि कमलाको कप्तानीमा बिच भलिबलमा नेपाली जोडीले तीनपटक अन्तराष्ट्रियस्तरको प्रतियोगिता जितेको छ ।
म्याग्दीक्को मालिका गाउँपालिका–३ रुम औलमा जन्मिनुभएकी कमलाले बि.स २०६८ सालमा नेपाल प्रहरीको राष्ट्रिय टोलीमा करार खेलाडीको रुपमा प्रवेश गरी १२ औं सार्क राष्ट्रस्तरीय प्रतियोगितापछि लगातार नेपाली टिमबाट खेलिरहनुभएको छ ।
बिभागीय टोली अन्तरगत नेपाल प्रहरीबाट महिला टिमको कप्टानी गरिरहनुभएकी कमलाले खेलमा चमत्कारी जित निकाल्न सक्ने क्षमता छ । बिच भलिबलमा विभागीय टोलीहरुमा सबैभन्दा उत्कृष्ट खेल कमलाको भएकाले पनि नतिजा आफ्नो पक्षमा पार्ने गरेको खेलका जानकारहरु बताउँछन् ।