रत्यौली प्रतियोगितामा ब्राहमण समाज म्याग्दी प्रथम

आठौं म्याग्दी महोत्सवको अवसरमा आयोजित रत्यौली प्रतियोगितामा ब्राहमण समाज म्याग्दीले जितेको छ । लोप हुँदै जान लागेको रत्यौली गीतलाई संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्ने उद्देश्यले म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको खुल्ला रत्यौली प्रतियोगितामा क्षेत्री समाज म्याग्दीले दोस्रो स्थान हात पारेको छ ।

प्रतियोगितामा प्रथम, द्धितिय हुनेले क्रमश नगद २५ हजार १ सय, १५ हजार १ सय रुपैयाँ सहित प्रमाणपत्रले संघका अध्यक्ष सुविन श्रेष्ठले वितरण गरेको प्रथम उपाध्यक्ष एवम् प्रतियोगितामा संयोजक लिलाराम गौतमले बताए ।

प्रतियोगितामा रघुगंगा गाउँपालिका–३, मौवाफाँटस्थित पवित्रा आमा समुह र मंगला गाउँपालिका–१ पूर्णगाउँस्थित शिवालय आमा समुहलाई सहभागी भत्ता ५ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो । गीतसंगीतले गुञ्जिने महोत्सवस्थल खुल्लामञ्चमा आइतबार रत्यौली गीतको प्रस्तुतिले दर्शकहरूमा उत्साह देखिन्थ्यो ।

विवाहको लगन भएको माघ महिनामा वैदिक विधिअनुसार पण्डितले पाठ गरी बेहुलीको घरतर्फ जन्ती गएपछि स्टेजमा रत्यौली गीतले कलिला बालबालिकादेखि बुढापाकामा रौनकता छाएको थियो।

पुरुष जन्ती जाने, महिलाहरूले बेहुलाको घरमा व्यङ्ग्यात्मक रूपमा गीत गाउने र रमाइलो गर्दै खेलिने रत्यौलीको अवलोकन गर्न महोत्सवस्थलमा बाख्लो उपस्थिती रहेको थियो । रत्यौलीको मुख्य आर्कषक मानिने लुठो (जोक्कर) ले हसाउने अभिनयले समेत सबैको ध्यान तानेको थियो ।

चार समुहको सहभागिता रहेको महोत्सवमा सासुबुहारीको कथा, छोरी र बुहारीको समानता, भिन्नता, सासुलाई आमा र बुहारीलाई छोरीको ब्यवहार गर्नुपर्ने, विवाहपछिको शिक्षाका साथै विवाहपछि छोरालाई विदेश नजान गरिएको मार्मिक अनुरोध, मलामीको अभाव जस्ता बैदेशिक रोजगारीको कथा र ब्यथाहरू समेत रत्यौलीमा प्रस्तुत गरिएको थियो ।

बैदेशिक रोजगारीले छोरासँग बुबाआमाको टुट्दै गएको सम्बन्ध, गाउँघरको बाँझो जमिनमा बनमारा पलाएको, कर्मथलोमै पलायन हुदाँ दाहासंस्कारसम्मका शब्दले दर्शकलाई समेत भाबुक बनाएको थियो ।

एक समुहलाई २० मिनेटर निर्धारण गरिएको समयमा रत्यौलीको तालमा दर्शकहरु समेत नाचेका थिए । रत्यौलीमा बेहुली लिन जानेदेखि लिएर आएपछि बेहुला र बेहुलीले समेत नाच्ने, जन्तीलाई खाजाको रूपमा रोटी, कसार र अचार खुवाउने परम्परालाई समेत स्टेजमा प्रस्तुत गरिएको थियो । रत्यौली प्रतियोगितामा निर्णायक संयोजक कृष्ण जिसीले यसपटक पारिवारिक पीडा, बैदेशिक रोजगारीले निम्त्याएको समस्या, रोजगारी स्वदेशमै जस्ता विषयबस्तु प्रस्तुत गरिएको बताए ।

म्याग्दी जिल्लाभित्रका मौलिक कला र संस्कृतिको संरक्षणमा समेत प्राथमिकता दिने उदेश्यले मौलिक रत्यौली प्रतियोगिताले सम्पूर्ण कलाकारहरूमा हौसला थपेकोले आगामी दिनमा थप ब्यापक बनाउने मुल संयोजक एवम् म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठको भनाई छ ।

आगामी माघ ८ गतेसम्म सञ्चालन हुने महोत्सवमा भजनकिर्तन, पुख्यौली नाच प्रतियोगिता समेत गरिएको थियो महोत्सवमा एक लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ भने १० करोडबराबरको व्यापारिक कारोबार हुने अनुमान गरिएको छ ।

Previous articleमालिका गाउँपालिकाका ८२५ जना किशोरीलाई ‘एचपिभि’ खोप दिइने
Next article‘कालीगण्डकी नदीमा बैशाख महिनासम्म जलयात्रा गर्न सकिन्छ’
हरिकृष्ण गौतम
हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।