पोखरामा दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा दाइँ गरी खेती भित्र्याउने कामलार्ई नयाँपुस्ता एवम् विदेशी पर्यटकमाझ चिनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।
पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरा ‘सबै मौसमका लागि’ भन्ने नारासहित हुने महोत्सवबाट ‘अफ सिजन’मा समेत पर्यटकलाई आकर्षित गरी पोखरालाई आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने आयोजकले जनाएको छ ।
पोखरा महानगरपालिका–२३ मार्गीको फेवा फाँटमा सञ्चालन हुने परम्परागत दाइँ महोत्सवमा पर्यटक तथा युवालाई संलग्न गराउँदै यसको संरक्षण गर्ने उद्देश्य रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताउनुभयो । उहाँका अनुसार पोखरामा भएका पर्यटकलाई कार्यक्रममा सहभागी गराई नेपालको परम्परागत कृषि प्रणाली तथा मत्तवपूर्ण महोत्सवको प्रत्यक्ष अनुभूति गराइने छ ।
पोखरा पर्यटन परिषद्ले असारमा खेतीयोग्य जमिनको संरक्षण, परम्परागत खेती प्रणाली, असारे भाका तथा दही च्युरा खाने परम्परालाई जीवन्त राख्दै पर्यटन प्रवद्र्धन गर्न हरेक वर्ष असारमा रोपाइँ महोत्सव गर्दै आएको छ । पोखरा महानगरपालिकाभित्रका खेतीयोग्य जमिनको खण्डीकरणले उत्पादनमा ह्रास आइरहेको अवस्थामा यसको जगेर्ना गर्न पहिलो दाइँ महोत्सव सफल हुने परिषद्का महासचिव जीवनराज सापकोटाले बताउनुभयो ।
पोखरा तथा गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धन र पोखरा बाह्य तथा आन्तरिक पर्यटकका लागि उत्कृष्ट, सबै मौसममा भ्रमण योग्य एवं सहजै पुग्न सकिने गन्तव्यका रूपमा रहेको जानकारी गराउन तथा किसानलाई प्रोत्साहन गर्ने र आफ्नो पेशाप्रति अभिप्रेरित गराउने महोत्सवको उद्देश्य रहेको छ । उज्यालो खबर