आठौं म्याग्दी महोत्सव तथा माघे सङ्क्रान्ति मेलामा म्याग्दीका २७ जना कृषकलाई सम्मान तथा पुरस्कृत गरिएको छ । म्याग्दीका कृषकहरूलाई लक्षित गरी म्याग्दी उद्योग वाणिज्य संघको आयोजना तथा कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहजीकरणमा बृहत् कृषि तथा पशु प्रर्दशनीमा कृषितर्फ २४ र पशुपालन तर्फ ३ जना उत्कृष्ट कृषकलाई पुरस्कृत गरिएको हो ।

सोमबार महोत्सवस्थल खुल्लामञ्चमा आयोजित एक कार्यक्रममा प्रदर्शनीमा काउली बाली बेनपा-१, रत्नेचौरका रुद्धबहादुर थापा, सुन्तलाजात बालीमा बेनपा-५ भिरमुनीका गणेश बानियाँ, अन्य फलफुल (केरा)धवलागिरी गाउँपालिका-७,का यमन रोका, जरे बाली (रायो साग) बेनपा-४,प्रेमबहादुर श्रीष र विविधतर्फ (च्याउ) धवलागिरी गापा-७ की प्रमिला थापामगर प्रथम भएको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत प्रकाश पुनले बताउनुभयो ।

प्रदर्शनीबाट छनोट गरिएकालाई प्रथम, द्वितीय, तृतीय र सान्त्वना गरी २४ जनालाई ४ हजार, ३ हजार, २ हजार र १ हजार सहित प्रमाणपत्र कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीब बास्तोला, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले सम्मान गर्नुभएको थियो ।

प्रर्दशनीमा म्याग्दीको बेनी नगरपालिकाबाट ५३ जना, मंगला गापा ६ जना, धवलागिरी गापा ७ जना, रघुगंगा गापा १० र अन्नपूर्ण गाउँपालिकाबाट १४ जना गरी ९४ जना कृषकले बस्तु १२० र बाली तर्फ ३९ प्रर्दशनी गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

त्यसैगरी उत्कृष्ट प्रजनन योग्य बोका प्रर्दशनी तथा प्रतियोगितामा १ सय १ किलो तौल भएको जमुनापारी बोकातर्फ बेनपा–२ खवराका कर्णबहादुर खड्का प्रथम, बेनपा–३, भकिम्लीका धन श्रीष र बेनपा–५, तिप्लेटीका गोपाल खत्री तृतिय हुनूभएको थियो । प्रथम, द्धितिय र तृतियले क्रमश १५ हजार, १० हजार, ५ हजार नगद र प्रमाणपत्र प्राप्त गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्राविधिक सुवास रेग्मीले जानकारी दिनुभयो ।

कृषि मेला प्रदर्शनीमा मूल्याङ्कनसहित पुरस्कृत हुन पाउँदा खुसी लागेको कृषक रत्नेचौरका थापाले बताउनुभयो । स्थानीयस्तरमा उत्पादित कृषि उपजहरुको प्रचारप्रसार तथा कृषकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यसहित कृषि मेला प्रदर्शनी गरिएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख बाँस्तोलाले बताउनुभयो ।

जिल्लामा उत्पादन हुने रैथाने बालीको संरक्षण गर्न, कृषि उपज तथा फलफुलको प्रदर्शनी र प्रचारप्रसार एवं स्थानीय कृषकलाई प्रोत्साहन गर्नका लागि कृषि प्रदर्शनी मेलाको आयोजना गरिएको थियो ।

 

 

Leave a Reply