म्याग्दीमा यसबर्ष ३३ करोडको सुन्तला उत्पादन

म्याग्दीमा यसवर्ष ३३ करोड भन्दा बढीको सुन्तला उत्पादन भएको छ । कूल ४ सय २५ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाका बोटबाट म्याग्दीमा ३३ करोड ४६ लाख नगद भित्रिएको छ । बाली कटानी,नयाँ बिरूवा सहित उत्पादकत्व मापन गर्दा प्रति हेक्टर ११.३५ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले बताउनुभयो ।

गतबर्ष ४ सय २० हेक्टरमा प्रति हेक्टर ८.५ मेट्रिक टन गरी कुल ३५ सय ७० मेट्रिक टन उत्पादन भएकोमा यसबर्ष ४ सय २५ हेक्टरमा ४७ सय ८१.२५ मेट्रिक टन उत्पादन भएको कार्यालय प्रमुख बाँस्तोलाको भनाई छ ।

एक दुई बोटबाट बेच्ने साना कृषक तथा साना डोके ब्यापारीले लगेका सुन्तलाको मुल्य संकलन समावेश छैन । बेनी नगरपालिका–३ भकिम्लीको राखु, मरेक लगायतका बस्तीबाट मात्रै ३ करोड, मंगला गाउँपालिका–३ र ४ वडाबाट समेत २ करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ । सुन्तला कृषकले न्यूनतम प्रतिकिलो ७०÷७५ सम्म बगैंचामै मुल्य पाएका छन्।

जिल्लाका ६ वटा स्थानीय तहमा सबैभन्दा धेरै भकिम्ली,राखु, मरेक, सुर्केमेला,बरञ्जा, भर्जुला, बराङ्जा, भोर्लेनी, कुहुँ,भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, हिलापोखरी, मुदी खाम्ला, राखु, वेगखोला, दोवा, हिस्तान, दोसल्ले, घार, दाना, नारच्याङ लगायत क्षेत्र सुन्तला उत्पादनको हिसाबले पकेट क्षेत्र मानिन्छन्।

यस वर्ष मङ्सिरको अन्तिम सातादेखि सुन्तला टिप्न सुरु भएको थियो भने माघ महिनाको अन्तिम सातासम्म टिप्ने गरिन्छ । म्याग्दीका स्थानीय तहले समेत सुन्तलाको क्षेत्रफल विस्तारमा सघाउने गरेकाले बैदेशिक रोजगारीबाट फर्किएकाहरू सुन्तला खेतीमा आर्कषित हुने गरेका छन् । म्याग्दीमा समुद्री सतहबाट ९ सय मिटरदेखि १६ सय मिटरको उचाईमा सुन्तला फल्ने गरेको छ । म्याग्दीका सुन्तला रसिलो हुने भएकाले ब्यापारीले काँचै सुन्तला बोटमै बुकिङ गर्ने गरेका छन् ।

 

Previous articleम्याग्दीका गौतमको नेतृत्वमा अमेरिकामा सुर्यग्रहणको असर सम्बन्धी अनुुसन्धान
Next articleहराएको मोबाइल फोन फेला पारेर फिर्ता गदैं प्रहरी
हरिकृष्ण गौतम
हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।