म्याग्दीमा विभिन्न समयमा चोरी भएका ७ थान मोवाइल प्रहरीले खोजी गरी फिर्ता गरेको छ । सार्वजनिक सवारी साधनहरु, भिडभाड हुने स्थानहरु, घरभित्रबाट हराएको मोबाइल चोरी भएको निवेदनको आधारमा आईएमई नम्बर परीक्षण गरी मोवाइल धनीलाई नै फिर्ता दिएको हो । निवेदनकर्ताले मोवाइल कम्पनीको नाम, मोडेल र मोबाइलको आइएमइआइ (इन्टरनेसनल मोबाइल इक्युपमेन्ट आइडेन्टिटी) नम्बर सहित निवेदन दिएकाको मोवाइल खोजी गर्ने गरेको प्रहरी निरिक्षक सागर पौडेलले बताउनुभयो ।
‘मोवाइल पसललाई समेत चोरी भएको आशंका लागेकालाई तत्काल जानकारी दिन अनुरोध गरेका छौ,‘एमडिएमएसमा दर्ता भएका मोवाइल खोजी गर्न सहज भएको छ’ प्रहरी निरिक्षक पौडेलले बेनीअनलाइनलाई भन्नुभयो ।
यसबर्ष हराएका ४१ वटा मोवाईलको निवेदन आएपनि ७ वटा विशेष अनुसन्धान पश्चात नियन्त्रणमा लिन सफल भएको र केही निगरानीमा रहेकाले भेटाएको मोबाइल फिर्ता नगरे कानुन अनुसार कारबाही समेत गरिने बताउनुभयो । हराएका मोवाइलको निवेदन पर्ने गरेपनि धेरैजसोलाई आइएमइआइ नम्बर समेत नराखी निवेदन दिने गरेको पाइएको छ ।
इन्टरनेसनल मोबाइल इक्युपमेन्ट आइडेन्टी नम्बर ‘इएमआइइ’ दिएर निवेदन दिने मोबाइल खोज्न प्रहरीलाई सजिलो हुन्छ । निवेदनमा केहीले मोडेल मात्रै दिएर खोजीकार्य गर्न अनुरोध गरेकाले त्यस्ता मोबाइल फेला पार्न समस्या हुने भएपनि अधिकांस मोवाइलको ट्याकिङ भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रयोगकर्ताले मोबाइल भित्रको आवश्यक सुरक्षा नम्बरलाई सुरक्षित राख्नुपर्छ ।
चोरी भएको मोवाइलहरू सस्तोमा किन्ने, मोवाइल पसलमा लगेर बेच्ने र त्यही मोवाइल अर्कोले खरिद गरी लैजाने गरेको अवस्थामा समेत भेटिएको छ । चोरीमा संलग्न मात्र नभई चोरीका मोबाइल किनेर प्रयोग गर्नेविरुद्ध पनि मुद्धा दर्ता गरेर कानुनी कारवाही अघि बढाउने भन्दै चोरी भएका मोवाइल इमान्दारितापूर्वक प्रहरीमा बुझाउन समेत प्रहरीले अनुरोध गरेको छ । आफ्नो हक नपुग्ने कुनै पनि धनमाल वा सम्पत्ति प्रयोग गरेको पाइएमा चोरी ठहर्छ भने चोरी गरी प्रयोगमा संलग्नलाई ३० हजार देखि ५० हजारसम्म जरिवाना र कैद सजाय समेत हुन्छ ।