---Advertisement---

नेपालको राजनीतिक चेतना र युवाको भूमिका: समय र सोचको यात्रामा

By छवि आचार्य
On: January 24, 2025 10:35 PM
Follow Us:

नेपालको राजनीतिक इतिहास विविध चरणहरूमा विभाजित छ। हरेक युगमा राजनीतिक परिवेशले युवाहरूको सोच र विचारधारामा गहिरो प्रभाव पार्दै आएको छ। बदलिँदो समय र परिस्थितिका साथ राजनीतिक विचारधाराको आकर्षण परिवर्तन हुनु स्वाभाविक हो।

यस लेखमा नेपालका विभिन्न कालखण्डमा युवाहरूको राजनीतिक सोच, उनीहरूको भूमिकाका साथै वर्तमानमा विवेकशील राजनीति र नयाँ सोचको महत्त्वलाई समेट्ने प्रयास गरिएको छ।

२००७ सालको राणाशासनको अन्त्य नेपालको राजनीतिक इतिहासको एउटा कोसेढुङ्गा हो। प्रजातन्त्रको स्थापना, स्वतन्त्रताको खोजी, र नेपाली कांग्रेसको नेतृत्वमा भएको यो परिवर्तनले युवाहरूमा आशा र विश्वास जागृत गर्यो। यदि म यो समयमा युवा हुन्थे भने, प्रजातन्त्रप्रतिको यो उत्कट चाहनाले मलाई पनि नेपाली कांग्रेसप्रति आकर्षित गर्ने सम्भावना थियो।

पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय प्रजातन्त्रको पुनर्स्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनले नेपालको राजनीतिक प्रणालीलाई नयाँ ढङ्गले परिभाषित गर्यो। यो समय वामपन्थी विचारधाराले विशेष स्थान लिएको थियो।

वर्गीय समानता र समाजवादप्रतिको आकर्षणका कारण, यदि म २०४६/४७ सालमा युवा हुन्थे भने, माले (नेकपा एमाले) जस्ता वामपन्थी पार्टीहरूसँग जोडिने सम्भावना उच्च थियो। २०५२ सालमा सुरु भएको माओवादी जनयुद्धले नेपालको राजनीतिक र सामाजिक संरचनालाई हल्लाइदियो।

सामन्तवादको अन्त्य, जातीय समानता, र शोषणविरोधी आन्दोलनका आदर्शले विशेषगरी ग्रामीण युवाहरूलाई तानेको थियो। यदि म यस कालखण्डमा युवा हुन्थे भने, सामाजिक अन्यायको अन्त्यका लागि माओवादी विचारधारा प्रति आकर्षित हुने सम्भावना प्रबल थियो। २०६२/६३ को आन्दोलनले राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनासँगै नयाँ राजनीतिक युगको सुरुवात गर्यो।

यही समय मैले किशोर अवस्थाबाट युवावस्थामा प्रवेश गर्दै राजनीतिप्रति चासो राख्न सुरु गरें। पुराना राजनीतिक प्रणाली र दलहरूको असफलताबाट निराश भएर, मैले “विवेकशील अभियान”लाई आत्मसात् गरेँ। सुसंस्कृत राजनीति, पारदर्शिता, र उत्तरदायी नेतृत्वका लागि नयाँ धारणा बोकेको यो अभियानले मलाई राजनीतिलाई सकारात्मक ढङ्गले हेर्न प्रेरित गर्यो।

वर्तमान राजनीतिक परिदृश्यमा, म विवेकशील राजनीति र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता लिँदै अगाडि बढिरहेको छु। यो केवल मेरो व्यक्तिगत रोजाइ होइन; यो समयको माग पनि हो।

आजको राजनीति विवेकशीलता, राष्ट्रभक्ति, र जनताको वास्तविक सेवाका लागि केन्द्रित हुनु पर्छ भन्ने मेरो धारणा छ। सच्चा राष्ट्रभक्तहरू कुनै दल वा विचारधाराका दास हुँदैनन्; उनीहरू देशको उन्नत भविष्यका लागि काम गर्छन्।

नेपालको राजनीतिक इतिहासमा युवाहरूको भूमिका सदैव परिवर्तनशील र निर्णायक रहेको छ। राजनीतिक विचारधाराका विभिन्न चरणमा मैले आफूलाई कल्पना गर्दा, समयानुसारको राजनीतिक प्रवृत्तिको प्रभाव देख्न सकिन्छ।

तर, आज म बुझ्छु कि विवेकशीलता, पारदर्शिता, र सुसंस्कृत राजनीतिमात्रै देशको उन्नति र स्थायित्वको आधार हो। हरेक विवेकशील नागरिकले आफ्नो जिम्मेवारी बोध गर्दै पार्टी, जातीयता, वा कुनै समूहभन्दा माथि उठेर राष्ट्रहितलाई प्राथमिकता दिनुपर्छ। अबको यात्रा सच्चा राष्ट्रभक्तहरूको नयाँ युग निर्माण गर्ने दिशामा हुनुपर्छ

लेखक ” राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला उपसभापति हुन् ।

 

 

छवि आचार्य