म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो ।
नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित मोनाले आइतवार भएको फाइनलमा राष्ट्रिय टोलीकै सदस्य रहिसकेका दिल सुनारसम्मिलित गल्कोट समाज अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।
फाइनलको पहिलो सेट मोनाले २५–१८ ले सहजै आफ्नो पक्षमा पार्न सफल भयो । रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको दोस्रो सेटमा मोनाले गल्कोटको सेट प्वइन्टलाई रोक्दै २६–२४ ले जित निकाल्न सफल भयो । मोनाले २२–२४ को स्थिति उल्ट्याएर जित निकालेको हो । तेस्रो सेट पनि मोनाले २५–१७ ले सहजै आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भयो ।
भेट्रान्स (३५ वर्षमाथि) मोनाले गोल्डेन ब्वाइज भलिबल क्लबलाई पराजित गर्दै उपाधि जित्न सफल भयो । उपाधिसँगै मोनाले ३ हजार १ सय ५५ अष्ट्रेलियन डलरसँगै कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको गल्कोटले १ हजार ८ सय ५५ अष्ट्रेलियन डलरसँगै कप, मेडल र प्रमाणपत्र हात पारेको छ ।

विजयी
३५ वर्षमाथिको विजेता मोनाले १ हजार ५५ अष्ट्रेलियन डलरसँगै कप, मेडल र प्रमाणपत्र तथा दोस्रो भएको गोल्डेन ब्वइजले ५ सय ५५ अष्ट्रेलियन डलरसँगै कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
नकआउटका आधारमा भएको एक दिने प्रतियोगितामा खुल्लातर्फ १४ र ३५ वर्षमाथि ७ गरी २१ टोलीको सहभागिता रहेको थियो ।