पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपीभी खोप अभियानको सबै तयारी पूरा भएको सरकारले जनाएको छ ।

आउँदो मङ्गलवार माघ २२ देखि फागुन ६ गतेसम्म देशैभरका ६ देखि १० कक्षासम्मका छात्रा तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई एचपीभी खोप लगाउन लागिएको हो ।

देशभर खोप पुर्‍याइएको र स्वास्थ्यकर्मीलाई आवश्यक प्रशिक्षण दिने काम भइरहेको स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ । खोप सुरक्षित भएकाले ढुक्कसँग लगाउन शाखाले आग्रह गरेको छ ।

किशोरावस्थामै खोप दिन सकेमा पाठेघरको मुखको क्यान्सरबाट धेरै महिलालाई जोगाउन सकिने खोप शाखा प्रमुख डा.अभियान गौतमले बताउनुभयो ।

अभियानका क्रममा हरेक सरकारी तथा निजी विद्यालयमा गएर खोप लगाउने र विद्यालय बाहिरका किशोरीलाई नजिकको पायक पर्ने विद्यालयमा व्यवस्था मिलाइएको डा.गौतमले बताउनुभयो । अभियानको अन्तिम दिन स्वास्थ्य संस्थाहरुमा गएर पनि खोप लगाउन सकिने उहाँको भनाइ छ ।

जोखिम क्षेत्रका धेरै किशोरीहरु खोप लगाउन छुटेमा सबन्धित समुदायमै पुगेर पनि खोप अभियान सञ्चालन गर्ने मन्त्रालयको तयारी छ ।

एचपीभी खोपको मात्रा एक डोज लगाए जीवनभर पुग्ने र पाठेघरको मुखको क्यान्सरको जोखिम धेरै कम हुने भएकाले खोप अभियानमा सहभागी हुन सरकारले आग्रह गरिरहेको छ ।

Leave a Reply