बागलुङमा ३० करोडको लगानीमा इला कम्फोर्ट लक्जरी होटल संचालनमा आएको छ । आईएमई गु्रपको लगानीमा सञ्चालनमा आएको होटलको उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले गरेका छन । शनिबार आयोजित भव्य समारोहमार्फत होटलको उदघाटन गर्दे मन्त्री पाण्डेले काली गण्डकी कोरिडोर तथा मध्य पहाडी लोक मार्ग हुँदै गण्डकी क्षेत्र तथा बागलुङका पर्यटकीय स्थल भ्रमण गर्ने पर्यटक तथा अन्य पाहुनाहरूका लागि गुणस्तरीय सेवा सुविधा उपलब्ध हुने विश्वास व्यक्त गरे ।
आइएमई ग्रुपले पर्यटन पूर्वाधारका क्षेत्रमा गरेको लगानीले मुलुककै पर्यटन उद्योगमा सकारात्मक प्रभाव पारेको भन्दै पाण्डेले नेपालको आर्थिक समृद्धिको भविष्य पर्यटनमै रहेकोले यसको प्रवद्र्धन गर्न सरकार दृढ रहेको उल्लेख गरे ।
उदघाटन समारोहमा गण्डकी प्रदेश सरकारका मन्त्री कृष्ण पाठकले आइएमई ग्रुपले पर्यटन पूर्वाधार विकासमा गरेको लगानीको चर्चा गर्दै गण्डकी प्रदेशमा लगानी बढाउन आह्वान गरे ।
पाठकले ढकालले लगानी गरेर रोजगारी सिर्जना गर्ने उदेश्यमा केहि ठाउँमा हुन अवरोध समेत भएको सुनेको भन्दै त्यस्तो भए आफ्नो लगानी लिएर हाम्रो गण्डकी प्रदेशमा आए प्रदेशका जनता स्वागतका लागि आतुँर रहेको बताए ।
सो अवसरमा आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बागलुङमा सञ्चालनमा ल्याएको यो होटलले यस क्षेत्रको पर्यटन विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।
बाग्लुङको भुगोल र भावनाको चर्चा गर्दे लगानी र रोजगारीको वातावरण नहुँदा विदेशिन बाध्य भएका लाखौं नेपालीको भावनालाई समेटेर आफूले पर्यटकीय पूर्वाधारमा लगानी केन्द्रित गरेको बताए।
ढकालले भने , पर्यटन र जलविद्युत क्षेत्रमा भएको लगानीले अर्थतन्त्र तथा नागरिकको जीवनस्तर सुधारमा बहुआयामिक फाइदा पुर्याउने भएकोले हामीले यी क्षेत्रमा लगानी केन्द्रित गरेका हौँ ।
आज उद्घाटन भएको यस होटलले पर्यटक तथा अन्य पाहुनाहरूका लागि स्तरीय सेवा सुविधा उपलब्ध गराउने र यसबाट काली गण्डकी कोरिडोर मार्फत भारतको सुनौली तथा चीन सँगको कोरला नाका हुँदै नेपाल भ्रमण गर्ने भारत तथा चीनका पर्यटकको सख्याँमा पनि उल्लेख्य वृद्धि भई बागलुङ तथा समग्र कालीगण्डकी क्षेत्रको पर्यटकीय, आर्थिक तथा सांस्कृतिक विकासमा थप योगदान पुग्ने पनि अध्यक्ष ढकालको विश्वास छ ।
कार्यक्रममा संघीय सांसदहरु दिपक गिरि, जीवन परियार, बागलुङ नगरपालिकाका मेयर बसन्त श्रेष्ठ र बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेल लगायतले बागलुङमा होटल सञ्चालनले यहाँको पर्यटन पूर्वाधारमा टेवा पुगेको बताउँदै थप लगानीका लागि आह्वान गरेका थिए ।
बजारको केन्द्रमा ४ रोपनी जग्गामा फैलिएको, इला कम्फोर्ट बागलुङमा २७ अतिथि कक्ष, दुई सुन्दर सुइटहरू र एक विशेष पेन्ट हाउस सहित ३० वटा कोठाहरू छन् ।
बाग्लुङबाट धौलागिरी हिमालसँगै अन्य सुन्दर हिमश्रृंखलाहरु, प्रशिद्ध पन्चकोट, बाग्लुंग कालिका क्षेत्र तथा मुलाबारी र बनौको धुरीसम्मका मनमोहक दृश्य देखिने होटलका प्रत्येक आवासबाट अतिथिलाई असाधारण अनुभव महसुस हुनेछ ।
इला होटल तथा रिसोर्टका प्रमुख सचिन ढकालले इला होटल्स एण्ड रिसोर्ट केवल नयाँ आतिथ्य ब्रान्ड मात्र नभएर यसले बागलुङ बसाइलाई अविस्मरणीय अनुभवहरूमा रूपान्तरण गर्ने बताएका छन् ।
प्रमुख ढकालले भने, इला कम्फर्ट बागलुङमा, हामी केवल कोठाहरू प्रदान गर्दैनौँ हामी हाम्रा पाहुनाहरूलाई उनीहरूको प्रस्थान पछि पनि लामो समयसम्म सम्झन लायक क्षणहरू सिर्जना गर्ने छौँ।’
पोखरा विमानस्थलबाट केवल १.५ घण्टाको दूरीमा अवस्थित, पोखरा र बागलुङ बिच प्रत्येक ३० मिनेटमा नियमित सार्वजनिक यातायात चल्ने भएकोले, होटलले आन्तरिक र अन्तर्राष्ट्रिय यात्रुहरूको लागि सुविधाजनक पहुँचमा रहेको छ ।
इला कम्फर्ट बागलुङ नेपालको हस्पिटालिटी क्षेत्रमा आक्रमण सेवा बिस्तार गर्ने योजनासहित आएको इला ब्राण्डको पहिलो प्रस्तुती भएकाले व्यवसायीले यसलाई मुनाफामा भन्दा बढि अतिथिलाई नयाँ अनुभव गराउनेमा केन्द्रित गरेको देखिन्छ । यो समूहले नवलपरासिको गैंडाकोटमामा इला होटल सुरु गर्ने तयारी गरिरहेको छ भने नेपालका सातै प्रदेशहरूमा सेवा विस्तार गर्ने योजना सहित काम गरिरहेको छ ।