शिरानमा ६ सय वर्ष पुरानो ऐतिहासिक खड्गभवानी कोत । पुछारमा बगिरहेको कालीगण्डकीको नागबेली दृश्य । जंगल र गाउँको मध्यभागमा पर्ने कन्थराज थानमा रहेको तीन सय वर्ष पुरानो विचारी चौतारीलाई अहिले पुरानै स्वरुपमा पुन:निर्माण गरिएपछि चिटिक्कको देखिएको छ ।
पहिला पहिला भरिया सुस्ताउँने, बटुवाले बिसाइ मार्थे, खेतीपाती र घाँसदाउरा गर्नेहरु थकान मेटाउन निर्माण गरिएका चौतारीहरु पछिल्लो समय जीर्ण बन्दै गएका छन् । कैयौं चौतारीहरु सडकका कारण मासिएका छन् भने कुनै सम्भार नपाएर भत्केका छन् । तर, बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको कन्थराज थानमा रहेको तीनसय वर्ष पुरानो जीर्ण चौतारीलाई मर्मतसंभार र पुननिर्माण गरेर चिटिक्क पारिएको छ ।
ज्यामरुककोटको कन्थराजथानमा अवस्थित यो चौतारी विसं १७७८ सालमा जहरसिंह घिमिरेले निर्माण गर्नुभएको स्थानीय रामकृष्ण घिमिरेले जानकारी दिनुभयो । अरु चौतारीमा वरपिपल हुने गरे पनि यो चौतारीमा समी लगाइएको छ । समीको यो रुख पनि ३ सय वर्ष पुरानो रहेको घिमिरेले बताउनुभयो ।
तत्कालिन समयमा पाल्पा अदालतमा विचारी पदमा कार्यरत आफ्ना पूर्वज स्व. जहरसिंह घिमिरेले कन्थराज थानमा चौतारी निर्माण गरी बरपिपल र समिको विरुवा लगाउनुको साथै चौतारी पोखरीको विवाहमा आफ्नै खर्चले ब्राह्मण बरबधुको समेत विवाह गरिदिनुभएको जहरसिंहका छैठौं पुस्ताका रामकृष्ण घिमिरेले बताउनुभयो ।
मोटरबाटोका कारण जीर्ण बनेर भत्किने अवस्थामा पुगेको चौतारीलाई स्थानीय घिमिरे युवाहरुले पुर्खाको बिरासत मानेर संरक्षण गरेका हुन् । स्व. जहरसिंह घिमिरेका ज्यामरुककोटमा बसोबास गर्ने सातौँ पुस्ताका युवाहरुले आफ्ना पुर्खाले निर्माण गरेको उक्त चौतारीलाई पुरानै स्वरुपमा पुननिर्माण गरेको स्थानीय सचिन्द्र घिमिरेले बताउनुभयो ।
“बाउबाजेले बनाएको चौतारी जीर्ण भएर अस्तित्व नामेट हुने स्थितिमा पुगेपछि हामी सन्ततीहरु जुटेर करिव रु तीन लाखको लागतमा चौतराीको पुननिर्माण गरेका हाैँ” घिमिरेले भन्नुभयो ।
यो चौतारीबाट धौलागिरि,माछापुच्छ्रे,गौरीशंकर,अन्नपूर्ण,निलगिरि,मानापाथी,गुर्जा लगायतका १४ वटा हिमालहरु,कालीगण्डकी,म्याग्दी नदी,गलेश्वरधाम,गायत्री मन्दिर,पुलहाश्रम,जडभरत गुफा,डढेकोट,बेनीबजार,मल्लाज,पुलाचौर,पञ्चका्ट लगाएत म्याग्दी,बागलुङ र पर्वतका ४० भन्दा बढी गाउँहरु देख्न सकिन्छ ।
घिमिरेका अनुसार लम्बाइ र चौडाइ (गज) बराबर भएको उक्त चौतारीमा केही वर्ष अघिसम्म नवरात्र (दशैं) का दश दिनसम्म ब्राह्मण राखी चण्डी पाठ लगाउने गरिन्थ्यो । अहिले सो चलन हटिसकेको छ । अहिलेसम्म पनि जनै पूर्णिमामा सोही चौतारीमा जनै मन्त्रणा गर्ने गरिन्छ । चौतारीको एक भागमा कन्थराज (स्थानीय देवता) को मुर्ति स्थापना गरीएको छ । यहाँ फूलपाती, दुध,दही र जनै चढाउने चलन रहेको छ ।
पछिल्लो समय चौतारीको दुईतिरबाट मोटरबाटो खुलेपछि यो चौतारीको अस्तित्व समेत संकटमा परेको थियो । मोटरबाटो नखुल्दासम्म यहाँ भारी विसाउने भरिया, गाईवस्तुका हेरालु गोठाला,बटुवा र सर्वसाधारणको भीड लाग्ने गर्दथ्यो । सिरसिर हावा चल्ने यो चौतारीमा सुस्ताउनका लागि भकुण्डे,फापरखेत,अर्जम,खबरा लगायतका गाउँहरुबाट युवायुवती र बूढापाकासमेत आउने गरेकाे स्थानीय भीमबहादुर पौडेलले जानकारी दिनुभयो ।
त्यस क्षेत्रमा खेतीपाती तथा पशुपालन बढी हुने भएकाले किसानले चौतारी र पोखरी धेरै निर्माण गरेका थिए । छिमेकी गाउँ अर्जम,फापरखेत खबरा,बगरफाँट हुँदै भकुण्डे छिर्ने गोरेटो बाटोमा पर्ने भएकाले कन्थराज थानको चौतारी उन्ताकादेखि नै चल्तीमा थियो ।
एक हजार नौसय मिटरको उचाइमा अवस्थित चौतारीको बीचमा ठिङ्ग उभिएको समीको बोटले पदयात्रीलाई अहिले पनि उसैगरी लोभाइदिन्छ ।
पुनःनिर्माणपछि चौतारी झनै चिटिक्क परेको छ । “चौतारीको नामोनिसान नै जान्छ कि भन्ने डर थियो, गाउँको सम्पदा र संस्कृति जोगाउन सफल भइयो”, घिमिरेले बताउनुभयो ।