बागलुङको काठेखोला गाउँपालिका-८ लेखानी गाउँ बसाइँसराइका कारण विस्तारै रित्तिदै छ । हुने खानेहरु सहर बजार झरेपछि गाउँमा अहिले न्यून आएका भएका परिवार मात्रै छन् । गाउँमा बस्दै आएका स्थानीयले व्यवसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्नुका साथै जीविको चलाउँदै आएका छन् । गाउँका झण्डै एक सय घर परिवार तरकारी खेतीमा आवद्ध छन् ।
उनीहरुलाई स्थानीय सरकार तथा विभिन्न संघ संस्थाले प्राबिधिकसहित तालिमको सहयोग र अनुदानसमेत दिने गरेका छन् । लेखानी गाउँको टोल-टोलमा प्लास्टिकका टनेल भेटिन्छन् । छरिएर रहेको गाउँमा किसानले व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएपछि उनीहरुको जीविनस्तरमा पनि सुधार आउन थालेको छ ।
गत वर्ष गाजा फाउण्डेशनले ५० परिवारलाई तरकारी खेती गर्ने तालिम र अनुदानसमेत दिएको थियो । त्यसपछि गाउँमा तरकारी खेती गर्नेको लर्को लाग्न थालेको छ । तरकारी बेचेरै यहाँका धेरैले दैनिकी चलाउने गरेका छन् । यहाँका किसानले उत्पादन गरेको तरकारी बागलुङमा खपत हुने गरेको छ । पहिले कोदो, मकै र दोरी फल्ने बारीमा अहिले लटरम्म गोलभेडा, बन्दा, काउली र साग उब्जि रहेका छन् ।
गत वर्ष असारमा दिइएको तरकारी खेती सम्बन्धी तालिमले किसानलाई व्यवसायिक बन्न प्रेरित गरि रहेको छ । तरकारी खेती गर्न थालेपछि परिवारको आर्थिक अवस्था उकासिएको स्थानीय पम्पी कँडेलले बताउनुभयो । तरकारी बेच्न थालेपछि परिवारको खर्च चलाउन सहज भन्दै गएको उहाँको भनाइ छ ।
“गाउँ छोड्दै बजार झर्ने धेरै छ, गाउँमा संभावना केही छैन भन्छन्, अहिले हामीहरुले यहाँ धेरै संभावना देखेका छौँ, हामीहरुसँग सामान्य तरकारी खेती गर्ने सिप पनि रैनछ, त्यही भएर बजार झर्दा रैछौँ” उहाँले भन्नुभयो – “अहिले गाउँका अधिकांशले टनेल हालेर तरकारी खेती गर्न थालेका छौँ, धेरै तरकारी लगाउनेले लाखौँ आम्दानी गर्छन्, हामीहरुले एक सरो लगाउन र विहान बेलुकाको छाक टार्न अरुको मुख ताक्नु पर्ने अवस्था छैन ।”
पहिले परम्परागत रुपमा तरकारी खेती गर्दा उत्पादन बढाउन नसकेको भन्दै अहिले वार्षिक रु पाँच लाख बढीको तरकारी विक्री गर्ने गरेको स्थानीय लिलाधर कँडेलले बताउनुभयो । आफूले एक दशकदेखि नै तरकारी खेती गर्दै आएको सुनाउँदै गत वर्षदेखि खेतीलाई थप विस्तार गरेको उहाँको भनाइ छ । पहिले गाउँमा तरकारी बेच्ने चलन नभएको सुनाउँदै पछिल्लो समय किसानहरु व्यवसायिक बन्दै गएको कँडेलले बताउनुभयो ।
उहाँले भन्नुभयो – “हामी किसानका लागि तालिम, प्राबिधिक र बिउ नभई हुँदैन, विभिन्न संघ संस्थाहरुले सहयोग गर्नु भएको छ, व्यवसायिक बन्न सिकियो, पहिला पहिला हाम्रा बाउ बाजेका पालामा तरकारी पनि बेच्छन् भन्थे, अहिले त्यही तरकारीले परिवार चलेको छ, बजारको लागि धेरै समस्या छैन, कहिलेकाहीँ भने अनुसारको बजार नपाउँदा दुःख लाग्छ ।”
नेपाल गाजा डेपलभमेन्ट फाउण्डेशनकी सामाजिक परिचालिका यमुना बस्यालले लेखानीका किसानले तरकारी खेती सम्बन्धि तालिम लिएपछि व्यवसायिक रुपमा लाग्ने महिलाहरु बढेको बताउनुभयो । फाउण्डेशनले किसानहरुलाई तालिमसहित टनेल, बिउ र कृषि सम्बन्धी अन्य उपकरणसमेत उपलब्ध गराएको उहाँको भनाइ छ ।