सरकारले बालिकाहरूलाई निःशुल्क दिन लागेको एचपिभी खोप (पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप) अभियानको तयारी पूरा भएको परिवार कल्याण महाशाखाले जनाएको छ।

महाशाखाको खोप शाखाका अनुसार यो खोप १० देखि १४ वर्षभित्रका सबै बालिकालाई माघ २२ गते मंगलबारबाट दिइनेछ। सबै विद्यालयमा र विद्यालयबाहिर गरी देशभरि २८ हजार ५०० खोप केन्द्रमार्फत खोप दिने तयारी भएको छ।

विद्यालयमा अध्ययनरत बालिकाका हकमा विद्यालयभित्रै र बाहिरकालाई स्वास्थ्य केन्द्र र नजिकका खोप केन्द्रमार्फत खोप दिने गरी तयारी भएको छ। शाखाका अनुसार ९० प्रतिशत खोप केन्द्र विद्यालयमा र १० प्रतिशत बाहिर छन्।

कुनै कारणवश खोप लिन छुटेकाहरूका हकमा सम्बन्धित ठाउँमै पुगेर पनि खोप दिने गरी व्यवस्था मिलाइने डा. गौतमले जानकारी दिए। उनका अनुसार यसबाहेक कुनै कारणले छुटेको हुन सक्ने भएकाले अनुगमन गरी खोजेरै खोप दिने व्यवस्था  हुनेछ। ‘यो उमेर समूहका एक जना पनि बालिका नछुट्ने गरी खोप दिनेछौं,’ उनले भने। यो खोप एक डोज मात्र लिए पुग्नेछ। गत वर्ष सरकारले दिएको खोप लिएकाहरूले भने यो खोप दोहोर्‍याउनुपर्दैन।

यो वर्ष नेपाल सरकारले गाभीमार्फत खरिद गरी १७ लाख ३० हजार डोज खोप लिएको हो। केन्द्रहरूमा सबै खोप पुगिसकेको शाखाले जनाएको छ। खोप अभियानका लागि सबै जिल्लाका खोप समन्वय समितिसँगको बैठक सम्पन्न भइसकेको छ। खटिने स्वास्थ्यकर्मीलाई आवश्यक तालिम पनि दिइसकिएको छ।

सरकारले सिकोलिन नामको एचपिभी खोप दिन लागेको हो। यो वर्ष १६ लाख ८८ हजार जना बालिकालाई खोप दिइनेछ। निःशुल्क दिन लागिएको यो खोप भने खरिदसहित एक अर्ब ३० करोड रूपैयाँ सरकारको लगानी छ। ‘बालिकालाई निःशुल्क दिन लागे पनि सरकारले सवा अर्ब रूपैयाँ लगानी गरेको छ। यसको एउटै उद्देश्य महिलालाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनु हो,’ डा. गौतमले भने।

नेपालमा बर्सेनि पाठेघरको मुखको क्यान्सरका कारण धेरै महिलाको मृत्यु भएपछि सरकारले नेपाली महिलाको जीवनरक्षाका लागि एचपिभी खोप अभियान नियमित गरेको डा. गौतमले बताए।

नेपालमा क्यान्सरकै कारण मृत्यु हुनेमा फोक्सोको क्यान्सर पहिलो नम्बरमा छ भने दोस्रो नम्बरमा पाठेघरको मुखको क्यान्सर रहेको छ। यो क्यान्सरका कारण नेपालमा प्रतिवर्ष औसत १३ देखि १४ सय महिलाको मृत्यु हुने गरेको छ। एचपिभी खोप सन् २००६ देखि नै विकसित देशमा लगाउन सुरु गरिएको हो। सहज उपलब्धता नभएको र अत्यन्त महँगो भएकाले नेपाल सरकारले समयमै यो खोप लिन नसकेको डा. गौतमको भनाइ छ।

नेपालले सन् २०१६ र २०१७ मा चितवन र कास्कीमा नमुना परियोजनाका रूपमा सीमित बालिकालाई यो खोप दिएको थियो भने गत वर्ष केही जिल्लाका बालिकालाई दुई मात्रा खोप दिएको थियो। ‘विकसित मुलुकमा दुई दशक पहिला नै सुरु भए पनि हाम्रो जस्तो विकासोन्मुख मुलुकले अहिले पनि यो खोप नियमित गर्न सकेका छैनन्,’ उनले भने।

नेपालमा पनि निजी क्षेत्रबाट सीमित हुनेखाने महिलाहरूले यो खोप लिने गरे पनि आम महिलाको पहुँचमा नभएका कारण सरकारले सबै महिलाको पहुँचमा हुने गरी यो खोप कार्यक्रम लिएको गौतमको भनाइ छ। ‘निजी क्षेत्रमा सातदेखि १० हजार तिरेर पनि यो खोप लगाउने गरेका छन् तर सबै महिलाको पहुँचमा यो थिएन,’ उनले भने। गौतमले भने, ‘बर्सेनि पाठेघरको क्यान्सरकै कारण धेरैको मृत्यु हुन थालेपछि सरकारले महँगो मूल्य तिरेरै भए पनि नियमित खोप कार्यक्रममा एचपिभीलाई समावेश गरेको हो।’

यो खोप अभियानका लागि प्रधानमन्त्री र स्वास्थ्य तथा जनसंख्यामन्त्रीले चासो राखेका कारण यो वर्ष समयमै खोप खरिद गर्न सम्भव भएको डा. गौतमले बताए। पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप नियमित दिनेमा विपन्न मुलुकहरूका बिचमा नेपाल पहिलो राष्ट्र भएको खोप शाखाको दाबी छ। ‘हुनेखाने मुलुकहरूले समेत एचपिभी खोप नियमित गर्न सकेका छैनन्,’ उनले भने।

माद्द २२ गतेदेखि लगाइने यो खोप औषधि व्यवस्था विभागलगायत निकायहरूबाट अनुमति प्राप्त, विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त भएको र यसअघि नै विश्वका धेरै देशमा प्रयोग भइसकेको खोप भएकाले यो उमेर समूहका किशोरीलाई ढुक्क भएर खोप लगाउन डा. गौतमको अपिल छ। ‘खोपले स्वास्थ्यमा कुनै असर गर्दैन, ढुक्क भएर लगाउनुहोला,’ उनले भने।

‘हल्लाको पछि नलाग्नुस्’ 

 

डा. रमेशकान्त अधिकारी सदस्य, राष्ट्रिय खोप सल्लाहकार समिति  

 

सरकारले १० देखि १४ वर्षसम्मका बालिकालाई दिन लागेको एचपिभी खोप पूर्ण रूपमा सुरक्षित छ। बालिकाहरूलाई निःशुल्क दिइए पनि सरकारले भने अर्बौं तिरेर खोप खरिद गरेको हो। यो खोपले पाठघरको मुखको क्यान्सर हुनबाट बचाउँछ।

यो खोप नलिए कुनै पनि महिलामा पाठेघरको मुखको क्यान्सर हने जोखिम हुन्छ। खोप नलिएकै कारण नेपालमा बर्सेनि धेरै महिलाको मृत्यु भइरहेको छ। यसकारणले महँगो परे पनि नागरिकको स्वास्थ्य बचाउन खोप दिन लागिएको हो।

नेपालमा सरकारले यो खोप दिने भनेपछि विभिन्न खालका टिप्पणीसमेत हुने गरेका छ। तर खोप सुरक्षित छ। हल्लाको पछि नलागी खोप लिनुहोला। यो खोप यसअघि नै विभिन्न सातवटा राष्ट्रहरूमा प्रयोग भइसकेको र सुरक्षित देखिएको छ। यो या त्यो भ्रमयुक्त कुरा सुनेर खोप लिन नछाड्नुहोला। यो खोपका बारेमा राष्ट्रिय सल्लाहकार समितिले अध्ययन गरी सुझाव दिएको थियो। त्यसपछि मात्र यो खोप दिइएको हो। Nagariknews.com

Leave a Reply