कतारमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना)कतारले अधिवेशनको घोषणासहित तयारीलाई तीव्रता दिएको छ । यही फेब्रुअरी ७ तारिकका दिन हुने ‘१२ औं साधारण सभा, २२ औं वार्षिकोत्सव तथा विविध सांस्कृतिक कार्यक्रम–२०२५’ लाई भब्य रुपमा सम्पन्न गर्ने तयारी तीव्र पारिएको हो ।
फूलबारी रेस्टुरेन्ट सनैया ३३ नम्बर (कान्तिपुर हस्पिटल बिल्डिङ) मा बिहान साढे ११ बजेबाट सुरु हुने अधिवेशनमा नेपाली पञ्चेबाजासहित कतारमै रहेका कलाकारहरू यामुना पटेल, सुधा परियार, बाबु कौसल, रेष्मी सेन्चुरी र अनिता परियारले सांगीतिक प्रस्तुति दिने भएका छन् ।
अधिवेशनलाई सम्बोधन गर्न म्याग्दी प्रवासी नेपाली संघका संस्थापक अध्यक्ष तथा हङकङका लागि नेपाल सरकारका तर्फबाट पर्यटन प्रवर्द्धनदूत समेत रहेका प्रकाश पुन आउने भएका छन् ।
म्याग्दीको गौरवको रूपमा रहेको थालीनाच साधरणसभाको आकर्षण बन्ने र कतारमा रहेका सबै म्याग्देलीको उपस्थितिको अपेक्षासहित सार्वजनिक रूपमा निमन्त्रणा गरिसकिएको मोना कतारका अध्यक्ष राजु पौडेलले बताए । उनले म्याग्दी भने बित्तिकै बृहत् उपस्थिति र सानदार कार्यक्रमको परिचय बनेको हुँदा साधारण सभा पनि भव्य बन्नेमा मोना कतार आशावादी रहेको बताए ।
मोनाले कतारसहित जिल्लामा समेत अग्रस्थानमा रहेर कार्य सम्पादन गर्दै आइरहेको छ । साधारणसभालाई लक्षित गर्दै मोनाले गत वर्षको डिसेम्बर देखिनै साधारण सदस्यता र आजीवन सदस्यता पनि खुल्ला गरेको छ । कतारमा विभिन्न व्यवसायिक कार्यक्रम गर्दै आर्जन भएको रकमबाट म्याग्दी जिल्लाको सदरमुकाममा मोना कतार बहुउद्देश्यीय अक्षयकोष समेत स्थापना गरी सञ्चालन गरिरहेको छ ।