म्याग्दीमा पाठेघरको मुखमा हुने क्यान्सरबाट जोगाउनका लागि विद्यालय केन्द्रित एचपीभी खोप अभियानमा उत्साहजनक सहभागिता देखिएको छ ।
जिल्लाका ६ वटै स्थानीय तहमा विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका ३ हजार १० जना किशोरीले लगाएको प्रदेश जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत राजेन्द्र सापकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार म्याग्दीमा चार हजार ७ सय ६१ जना छात्रा तथा किशोरीलाई लक्षित गरी सञ्चालन गरिएको खोप अभियानमा दुई दिनमा ५३ प्रतिशत प्रगति प्राप्त भएको छ । अभियान अन्तरगत मंगलबार र बुधबार सबैभन्दा धेरै बेनी नगरपालिकामा ५ सय ५३ जना र सबैभन्दा कम अन्नपूर्ण गाउँपालिकामा १ सय ३९ जना किशोरीले खोप लगाएका छन् ।
्अभियानमा मालिका गापामा २ सय १९ जना, धवलागिरी गापा २ सय ७४ जना, मंगला गापा १६३ जना रहेका छन् । यो अभियान माघ २९ गतेसम्म सञ्चालन हुने छ ।
जिल्लामा खोप लगाउनका लागि १०४ वटा विद्यालय र ३८ वटा स्वास्थ्य संस्था गरी एकसय ४२ वटा खोप केन्दको व्यवस्था गरिएको छ । कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा ४ हजार ६ सय ८८ र १० देखि १४ बर्ष उमेर समूहका विद्यालय बाहिर रहेका ७३ जना किशोरी गरी चारहजार ७ सय ६१ जनालाई एचपीभी खोप दिइने तयारी भएको प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले जानकारी दिनुभयो ।
खोप अभियान अन्तरगत अन्नपूर्ण गाउँपालिकामा ३ सय ९७ जना, रघुगंगामा ४ सय ९५ जना, बेनी नगरपालिकामा एकहजार ८ सय ६८जना, मंगला गाउँपालिकामा पाँचसय ६४ जना,मालिका गाउँपालिकामा ८ सय २९ जना र धवलागिरि गाउँपालिकामा ६ सय ८ जना किशोरीहरुलाई एचपीभी खोप लगाइने छ । नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एपिभी खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्यका जानकारहरु बताउँछन् ।