पाठेघरको मुखमा हुने क्यान्सर (एचपिभी) विरुद्धको खोप अभियान सुरु भएयताका तीन दिनमा झन्डै ६ लाख बालिकाले उक्त खोप लगाएका छन्। मंगलबार सुरु भएको खोप अभियानअन्तर्गत बिहीबार साँझसम्म पाँच लाख ७० हजार बालिकाले खोप लिएको परिवार कल्याण महाशाखाको खोप शाखाले जनाएको हो। ‘तीन दिनमै पाँच लाख ७० हजार बालिकाल खोप लिएको देखिन्छ,’ खोप शाखाका प्रमुख डा. अभियान गौतमले भने, ‘यो अवधिमा यतिको संख्याले खोप लिनु भनेको छिटो र राम्रो कभरेज हो।’
खोप अभियान तीव्र गतिमा सफल पार्ने प्रदेशहरूमा लुम्बिनी र सुदूरपश्चिम अग्रणी स्थानमा रहेको खोप शाखाको भनाइ छ। खोप शाखाका प्रमुख डा. गौतमका अनुसार यी प्रदेशमा कुल खोपको ५० प्रतिशत प्रयोग भइसकेको छ।
सरकारले यो वर्ष देशभरिमा १० वर्षमाथि १४ वर्षसम्मको उमेर समूहका १६ लाख ८८ हजार बालिकालाई एचपिभी खोप लगाउने लक्ष्य लिएकोमा बिहीबारसम्म ३४ प्रतिशतले खोप लगाइसकेका छन्। अन्य पाँच प्रदेशमा भने मंगलबार र बुधबार सरस्वती पूजा र त्यससँग सम्बन्धित कार्यक्रमका कारण खोप अभियान प्रभावित भएकाले तुलनात्मक रूपमा कम ‘कभरेज’ भएको तर बिहीबारदेखि ती प्रदेशहरूमा पनि सामान्य रूपमा कभरेज हुन थालेको खोप शाखाले जानकारी दिएको छ।
एचपिभी खोप अभियान माघ २२ गते सुरु भएको हो। यो अभियान फागुन ६ गतेसम्म जारी रहनेछ। सरकारले पाठेघरको मुखको क्यान्सरका कारण धेरै महिलाको मृत्यु हुन थालेको भन्दै त्यसलाई न्यूनीकरण गर्न र त्यस किसिमको क्यान्सरलाई नियन्त्रणमा लिन बालिकाहरूलाई यो खोप निःशुल्क रूपमा दिएको हो।