म्याग्दीको मालिका गाउँपालिका-७,बिममा संचालित किसानी कृषि प्राविधिक शिक्षालयले स्थापना गरेको किसानी सञ्जीवनी अक्षयकोषमा डेढ करोडभन्दा बढी आर्थिक संकलन भएको छ । अक्षय कोषको घोषणा भएको करिब चार महिनामा स्वदेश तथा विदेशमा शनिबारसम्म १ करोड ५१ लाख १७ हजार ७२३ रुपैयाँ संकलन भएको अक्षयकोषका विदेश विभाग प्रमुख कृष्ण जुग्जालीले बताउनुभयो ।

‘यो अभियानमा हामीले लक्ष्यभन्दा धेरै संकलन गर्न सफल भएका छौ,अझै विदेशमा धेरैले सहयोग गर्दैं हुनुहुन्छ’ विदेश विभाग संयोजक जुग्जालीले भन्नुभयो ।अक्षयकोषका लागि छोटो अवधिमा धेरै संकलन भएको बताउँदै दैनिकजसो स्वतः स्फूर्त सहयोग आइरहेको छ । किसानी कृषि प्राविधिक शिक्षालयका प्राचार्य जंगबहादुर गर्बुजाले गाउँदेखि बिदेशसम्म बिमबासीको सहयोगको लहरबाट उत्साहित भएको बताउनुभयो ।

यो अभियान फागुन महिनाको दोस्रो साता बन्द हुने भएकाले अहिले दैनिकजसो छुटेका सहयोगदाताले सहयोगको घोषणा गरिरहनुभएको छ । देशका विभिन्न जिल्लाबाट कृषि र भेटेरनरी शिक्षा लिन आउने गरिब,विपन्न र जेहेनदार विद्यार्थीहरूको सहयोगका लागि अक्षयकोष स्थापना गरिएको प्राचार्य गर्बुजाको भनाइ छ। अभियानमा न्यूनतम १ हजारदेखि १० लाखसम्म सहयोग गर्ने सहयोगदाता हुनुहुन्छ ।

व्यावसायिक कृषितर्फ उन्मुख क्षेत्रमा बाली विज्ञान, पशु चिकित्सा (भेटेरिनरी) विषयमा पढाइ हुने यस शिक्षालयमा विद्यार्थीको आकर्षण पनि बढेको छ। बिममा २०६८ सालमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी २९ महिने जेटिए, २०७२ सालदेखि तीन वर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) र तीन वर्षे पशुविज्ञान तहको पढाइ सुरु भएको थियो।

कृषि विषयको प्राविधिक शिक्षा सामुदायिक विद्यालयमै पढाइ हुन थालेपछि विद्यार्थी अध्ययनसँगै खेतीको अभ्यासमा पनि लाग्न थालेका छन्। देशका विभिन्न जिल्लामा सञ्चालन खर्च समेत जुटाउन नसकिरहेको कृषि प्राविधिक शिक्षालयका बिच पश्चिम म्याग्दीमा रहेका किसानी कृषि प्राविधिक शिक्षालयमा भने देशभरबाट पढ्न आउने र रोजगारीका लागि समेत धमाधम सिफारिस भइरहेका छन्।

कृषि पढ्ने विद्यार्थीलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले किसानका खेतबारीमा नै पुगेर प्रयोगात्मक अभ्यास गराउनाका साथै फलफूल खेती, तरकारी खेती, दलहन बाली र रैथाने जातका कृषि उपजहरू उत्पादन गरी बजारमा बेच्ने समेत गरिएको छ। कृषि प्राविधिक शिक्षालयको स्थापना यहाँ विद्यार्थी र शिक्षकहरुकै प्रयासमा उत्पादन भएको बस्तु बिक्री गरी विद्यार्थीले आफ्नो खर्च चलाउने गरेका छन्।

Leave a Reply