म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको गौश्वारामा आयोजना गरिने गौश्वारा गोवर्धन महायज्ञ २०८२ को तयारी सुरु भएको छ । मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सत्संकल्प र नेतृत्वमा आगामी वैशाख १५ देखि ३० गतेसम्म गौश्वारामा गोवर्धन महायज्ञ आयोजना गरिने भएको हो ।
पर्यटन प्रवर्धन, योग, साधना तथा सनातन संस्कृतिको संरक्षण तथा विभिन्न धार्मिक तथा पर्यटकीय पूर्वाधारहरु निर्माण गर्ने उद्देश्यले महायज्ञ आयोजना गर्न लागेको महायज्ञ पूर्व तयारी समितिका सदस्य चन्द्रकान्त रिजालले जानकारी दिनुभयो ।
बागलुङको प्रशिद्ध धार्मिक पर्यटकीय स्थल पञ्चकोटको नजिकै रहेको प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधताले युक्त गौश्वारमा पश्चिम नेपालमा नै पहिलो पटक गोवर्धन महायज्ञ आयोजना गरिएको हो । उक्त महायज्ञको तयारीका लागि शनिबार (आज) काठमाण्डौंमा रहेका ज्यामरुककोट र गौश्वाराका वासिन्दाहरुको भेलामा स्वामी कमलनयनाचार्यले महायज्ञको तयारीका लागि छलफल गर्नुभएको ज्यामरुककोट समाज नेपालका अध्यक्ष हर्कबहादुर थापाले जानकारी दिनुभयो ।
महायज्ञका लागि विभिन्न सातवटा सेवाका प्रकल्पहरु निर्धारण गरिएको छ । महायज्ञ आयोजनाका लागि सातवटा सदस्यता वर्ग विभाजन गरी सेवाशुल्क निर्धारण गरिएको महायज्ञ पूर्व तयारी समितिका सदस्य रिजालले बताउनुभयो ।
उहाँकाअनुसार क वर्गको सदस्यताका लागि रु सातलाख ५५ हजार पाँच सय ५५ सेवाशुल्क तोकिएको छ भने उक्त सदस्यता जम्मा एक जनालाई मात्र वितरण गरिने छ । त्यसैगरी ख वर्गको सदस्यताका लागि रु पाँचलाख ५५ हजार पाँचसय ५५ निर्धारण गरिएको छ । उक्त सदस्यता दुईजना दाताले प्राप्त गर्न सक्नुहुने छ ।
त्यसैगरी पाँच जनालाई ग वर्गको सदस्यता वितरण गरिने छ । जसको शुल्क रु तीन लाख ५५ हजार पाँच सय ५५ रहेको छ । ११ जनालाई वितरण गरिने घ वर्गको सदस्यता शुल्क रु दुईलाख ५५ हजार पाँच सय ५५,१५ जनालाई दिइने ङ वर्गको सदस्यता शुल्क रु एकलाख,५५ हजार, पाँच सय ५५, च वर्गको सदस्यताका लागि रु ५५ हजार,पाँच सय ५५ र छ वर्गको सदस्यताका लागि रु २५ हजार,पाँचसय ५५ शुल्क निर्धारण गरिएको छ । च वर्गको सदस्यता ३५ जना र छ वर्गको सदस्यता १०८ जनालाई वितरण गरिने छ ।
महायज्ञमा सदस्यताबाट रु एक करोड, ३४ लाख, ९३ हजार, दुईसय ३५ सहयोग रकम जुट्ने अपेक्षाका साथ तयारी गरिएको उहाँले बताउनुभयो । सदस्यता शुल्कका अतिरिक्त रु दुई करोड थप रकम संकलन गर्ने अनुमान आयोजकको रहेको रिजालले बताउनुभयो ।महायज्ञमा वचत भएको रकमबाट विभिन्न पर्यटकीय तथा धार्मिक पूर्वाधार निर्माण गरिनुका साथै गौशाला, बहुउद्धेश्यीय सांस्कृतिक भवन, ध्यान कुटीलगाएतका संरचना निर्माण गरिने उहाँले बताउनुभयो ।