खेतबारीको डिल,भिरालो जमिन,सडकको छेउ र पाखो जमिनमा लगाएको अम्रिसो (कुचो घाँस) बेचेर म्याग्दीका ग्रामीण भेगका किसानहरुले आम्दानी गर्न थालेका छन् । खेतबारीमा खाद्यान्न र डिल तथा भिरालो कान्लामा अम्रिसो लगाएर यहाँका ग्रामीण भेगका किसानले दोहोरो आम्दानी लिन सफल भएका हुन् ।
जिल्लाको मंगला गाउँपालिका ५ अर्मनकी तेजकुमारी बूढाथोकीले बारी र पाखोगरी करिव पाँच रोपनी क्षेत्रफलको जमिनमा अम्रिसो खेती गर्नुभएको छ । गत वर्ष अम्रिसो र कुचो बेचेर रु तीन लाख आम्दानी गर्नुभएकी बूढाथोकीले यस वर्ष रु चारलाख बढी आम्दानी गर्ने उद्धेश्यका साथ अम्रिसो खेतीको क्षेत्र विस्तार गर्नुभएको हो ।
उहाँले सडकको छेउ,खेतबारीको कान्ला र पाखो जमिनमा अम्रिसो खेती गर्नुभएको छ ।त्यसैगरी बेनी नगरपालिका २ रोहोटेका बेलबहादुर घिमिरेले आफ्नो घर वरिपरिको बारीमा अम्रिसो र बेसार खेती गर्नुभएको छ । बारीको डिल र कान्लामा अम्रिसो रोप्नुभएको घिमिरेले बारीका पाटामा भने बेसार खेती गर्नुभएको हो ।
गतवर्ष अम्रिसो विक्री गरेर रु दुईलाखको हाराहारीमा आम्दानी भएको र यस वर्ष आम्दानी बढी हुनेगरी अम्रिसो खेती बढाएको उहाँको भनाइ छ ।यहाँका किसानले अम्रिसो प्रतिकेसी रु सय सय २५ का दरले विक्री गर्दै आएका छन् । “गत वर्ष रु एक सय २५ मा विक्री ग¥यौँ,यस वर्ष मूल्य बढेको छ भन्ने सुनेका छौँ” किसान बेलबहादुर घिमिरेले भन्नुभयो ।
तीन वर्ष अघिसम्म घरायसी प्रयोजनका लागि कुचो र गाइवस्तुको आहाराका लागि घाँसको रुपमा प्रयोग गरिदै आएको अम्रिसोको पछिल्ला वर्षहरुमा मूल्य वृद्धि हुँदै गएपछि यहाँका किसान उत्साही भएका हुन् । केही वर्षअघिसम्म प्रतिकिलो रु ४० का दरले मुस्किलले बिक्री हुने गरेको अम्रिसो गत वर्ष प्रतिकेजी रु एक सय २५ का दरले विक्री भएको र यस वर्ष अझ मूल्य बढ्ने आशामा किसानहरु रहेका छन् ।
विगत पाँच वर्षदेखि म्याग्दीबाट अम्रिसोको खरिद गर्दै आउनुभएका बागलुङ ओढारचौरका कृष्ण गौतमले गत वर्ष प्रतिकिलो रु एक सय २५ सम्म लगाएर १० क्विन्टल अम्रिसो खरिद गरेको र यस वर्ष पनि रु एक सय २५ मा नै १२ क्विन्टल अम्रिसो खरिद गर्नका लागि किसानहरुलाई पेस्की बुझाइसकेको बताउनुभयो ।
म्याग्दीबाट खरिद गरेको अम्रिसो उहाँले पोखरा,चितवन,काठमाण्डौ लगाएतका सहरमा लगेर विक्री गर्दै आउनुभएको छ । फुको अम्रिसो बेच्नुभन्दा त्यबाट कुचो बनाएर विक्री गर्दा बढी फाइदा हुने उहाँले बताउनुभयो । एक किलो अम्रिसोबाट पाँचवटासम्म कुचो बनाउन सकिने र प्रति कुचो रु ७५ देखि रु एक सय सम्मका विक्री हुने उहाँको भनाइरहेको छ । म्याग्दीमा प्रतिकिलो रु एक सय २५ मा खरिद गरेको अम्रिसो पोखरामा रु एकसय ६०,चितवनमा रु एक सय ९० र काठमाण्डौंमा दुईसयमा विक्री गर्ने गरेको उहाँको भनाइ छ ।
पछिल्ला तीन वर्षयता भारतबाट अम्रिसोको माग बढेर आएपछि मूल्य बढेको व्यवसायीहरूको भनाइ छ ।अन्नबालीका लागि उपयोग हुन नसक्ने भिरालो पाखा जमिनमा समेत अम्रिसो खेती गर्न सकिन्छ । हिउँदका समयमा अन्य घाँसपात नहुँदा अम्रिसोको पात गाईवस्तुका लागि निकै उपयोगी हुन्छ । ग्रामीण भेगसम्म यातायातको पहुँच पुगेपछि यसको व्यावसायिक खेती बढेको हो ।
अंग्रेजीमा ब्रुम ग्रास, टाइगर ग्रास भनिने अम्रिसोको वैज्ञानिक नाम थाइसेनोलीमा मेक्जिमा हो । ग्रेमिनी–पोएसी वनस्पतिक परिवारमा पर्ने यो बहुवर्षीय घाँस प्रजातिको बिरुवा तीन मिटरसम्म अग्लो हुनेगर्छ । यसका पातहरू ३० सेन्टिमिटरसम्म लामो र पाँच सेन्टिमिटर चौडा हुन्छन् । यसका पातहरू बाँसका पातजस्ता आकारका हुन्छन् । मुख्यतः यसको फूलको झुप्पा कुचो बनाउन प्रयोग गरिने भएकाले यसको महत्व बढेको हो ।