म्याग्दीको बेनीमा १० औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा सोमबारदेखि बेनीको खुल्ला मञ्चमा ६ वटा स्थानीय तहबाट छनोट भएका खेलाडी बिचको प्रतिस्पर्धा सुरु भएको हो ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गदैं खेलकुदमा संघीय र प्रदेश सरकारबाट म्याग्दी जिल्लालाई अन्याय भएको बताउनुभयो । खेलाडीको पहिचान तथा खेल क्षेत्रको भौतिक पूर्वाधारमा राज्यका निकायबाट कुनैपनि सहयोग नभएको भन्दै स्थानीय तहको प्रयासमा खेलकुद गतिविधिमा सहभागि हुनुपर्ने बाध्यता रहेको बताइएको थियो । उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले मन्तब्य राख्नुभएको थियो ।
प्रतियोगिताको उद्घाटन खेलमा १५ सय मिटरको दौड प्रतियोगितामा छात्रतर्फ मालिका गाउँपालिकाका विशाल सुनारले स्वर्ण, बेनी नगरपालिकाका ईश्वर न्यौपानेले रजत र बेनीकै सुजन रानामगरले कास्य पदक तथा छात्रातर्फ मालिका गापाकी कमला बुढाले स्वर्ण, रघुगंगा गाउँपालिकाकी सोनिया भण्डारीले रजत, रघुगंगाकै सुप्रिया नगरकोटीले कास्य पदक जित्न सफल हुनुभएको थियो ।
विजेता खेलाडीहरुलाई बेनी नगर प्रमुख सुरत केसी, बेनी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष उत्तमकुमार कर्माचार्य, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले पुरस्कार वितरण गर्नुभयो ।
मंगलबार सम्पन्न हुने प्रतियोगितामा भलिबल, कबड्डी र एथलेटिक्स विद्यातर्फ जिल्लाका ६ स्थानीय तहबाट व्यवस्थापकीय टिमसहित ६ सय जना खेलाडी सहभागी भएको जिल्ला खेलकुद विकास समितिका सदस्य कुमार किसानले बताउनुभयो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने स्थानीय तहलाई रनिङ शिल्ड, ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
प्रतियोगितामा ३० स्वर्ण, ३० रजत र ३० कास्य पदकका लागि खेल हुने छ । आगामी फागुनको ५ र ६ गते गोरखामा हुने प्रदेशस्तरीय राष्ट्रपति रनिङ प्रतियोगितामा भलिबल तर्फबाट २०, कबड्डीबाट २०, मार्शल आर्टबाट ३६ र एथलेटिक्सबाट २४ गरी एक सय जना खेलाडीले सहभागिता जनाउने छन् । जिल्ला खेलकुद विकास समितिले पालिकाबाट सहभागि शुल्क बापत २५ हजार सहित आन्तरिक स्रोतबाट ४ लाख २५ हजारको खर्चमा प्रतियोगिता सम्पन्न गर्दछ ।