नेपाल कहिलेसम्म भ्रष्ट मुलुककै सूचीमा: गतवर्ष भन्दा यसवर्ष एक अंक घट्यो

0
10

ट्रान्सपरेन्सी इन्टरनेशनलले सन् २०२४ को भ्रष्टाचार अवधारणा सूचकाङ्क (करप्सन पर्सेप्सन इन्डेक्स(सिपिआई) सार्वजनिक गरेको छ। मङ्गलवार सार्वजनिक गरेको सूचकाङ्कमा अघिल्लो वर्ष(सन् २०२३)को तुलनामा नेपाल एक अङ्क कम प्राप्त गरेको छ।

गत वर्ष नेपालले कुल १०० अंकमा ३५ अङ्क प्राप्त गरेको थियो। यस वर्ष ३४ अङ्क मात्रै प्राप्त गरेको छ। सिपिआईले कम भ्रष्टाचार हुने मुलुकलाई बढी अङ्क र बढी भ्रष्टाचार हुने मुलुकलाई कम अङ्क निर्धारण गर्ने गर्छ।

नेपालको अघिल्लो वर्ष अङ्क बढी भए पनि स्थान १०८ औँ थियो। यस वर्ष ३४ अङ्क मात्र प्राप्त गरे पनि स्थान भने १०७ औंमा झरेको छ।

एकै स्थानमा धेरै देश समेटिँदा यसपाला नेपालको स्थान खस्किएको देखिन्छ।

सूचकाङ्क अनुसार यस वर्ष सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा ९० अंकसहित डेनमार्क पहिलो स्थानमा रहँदा ८ अंकसहित सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा दक्षिण सुडान परेको छ।

ट्रन्सपरेन्सी इन्टरनेसनलले ५० भन्दा कम अङ्क पाउने मुलुकलाई भ्रष्टाचार व्याप्त मुलुकका मान्दछ। जसअनुसार नेपाल भ्रष्टाचार व्याप्त मुलुकमै परेको छ। यद्यपि पछिल्ला केही वर्षमा प्राप्त हुने अंकमा भने केही सुधार देखिने गरेको छ।

ट्रान्सपरेन्सीको उक्त मापदण्डअनुसार उसले परीक्षण गर्ने विश्वका १८० देशमध्ये ५८ देशमा मात्रै कम भ्रष्टाचार हुन्छ। बाँकी १२२ देश बढी भ्रष्टाचार हुने देशमै पर्छन्। जसमा चीन(४३ अङ्क), दक्षिण अफ्रिका(४१ अङ्क), भारत(३८ अङ्क)जस्ता देश पनि बढी भ्रष्टाचार हुने देशमै परेका छन्।

ट्रान्सपरेन्सी इन्टरनेशनलले भ्रष्टाचार मापन विभिन्न ६ वटा सूचकमा सर्वेक्षण गर्छ। विभिन्न संस्थाहरूले गर्ने अध्ययनमा भ्रष्टाचार, सुशासन र घुस खोरीका बारेमा सोधिने प्रश्न र सर्वेक्षणलाई आधार बनाएर भ्रष्टाचार अवधारणा सूचकाङ्क तयार गर्छ।