म्याग्दीको बेनीमा आयोजित एक कार्यक्रममा वन क्षेत्रलाई आम सर्वसाधारणको आम्दानीको श्रोतका रुपमा पनि विकास गर्नुपर्नेमा जोड दिइएको छ । पछिल्लो समय जंगली जनावरले वस्तीमा दुःख दिएको अवस्थामा वन क्षेत्रमा केरा, चिउरी जस्ता पैदवार लगाएको खण्डमा बाँदरले वस्तीमा दुख नदिने र चिउरीले गर्दा आगालगि पनि कम हुन सक्ने तर्फ सचेत रहन आग्रह गरीएको थियो ।

जिल्ला वन क्षेत्र समन्वय समितिको बैठकमा बेनी नगरपालिकाका प्रमुख सुरत केसीले विगतमा दाउरा प्रयोग हुँदा सामुदायिक वनले आम्दानी गर्ने गरेको भएपनि ग्यासको प्रयोग बढ्दा दाउराको प्रयोग घट्न थालेको बताउनुभयो । उहाँले भन्नुभयो दाउराको लागत बढी हुने र ग्यासको लागत कम हुने भएकोले पनि वन क्षेत्रमा अब दाउरा मात्रै नभएर अन्य आम्दानीको श्रोत बढाउनु पर्छ ।

नगरप्रमुख केसीले यस वर्ष हिउँदमा आकासे पानी नपरेको हुँदा आगालागिका घटनाहरु बढी हुन सक्ने भएकाले त्यस तर्फ सचेत रहन समेत आग्रह गर्नुभएको थियो । त्यस्तै स्थानीय तहमा अन्य धेरैजसो विज्ञ हुने भए पनि वन सम्बन्धी विज्ञताको स्थानीय तहमा अभाव रहेको धारणा राख्नु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले वन डडेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालय म्याग्दीले तत्कालै झाडी सरसफाइलाइ तिब्रता दिन आग्रह गर्नुभएको थियो । सबै तहले समन्वय र सहजीकरण गरेर अगाडी बढेको खण्डमा वन डडेलो नियन्त्रणका लागि सहज हुने भएकाले त्यस तर्फ ध्यानाकर्षण गराउनु भएको थियो । उहाँले सबै पालिका, आमा समूह, क्लब तथा बालक्लबहरुलाई पनि आगालागिको सुचना दिन र नियन्त्रणमा सहभागी हुनका लागि सम्पर्क र समन्वय गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा कार्यवाहक जिल्ला समन्वय प्रमुख डिलकुमारी खत्रीले हिउँदको समयमा हिमपात तथा आकाशे वर्षा नभएको आगालागिको जोखिम बढेकोले सचेत रहन आग्रह गर्नुभयो । उहाँले तत्काल योजना बनाएर आगालागि नियन्त्रणका लागि सचेत रहँदै अगाडी बढ्नु भन्नुभएको थियो ।

डिभिजन वन कार्यालयले आयोजना गरेको बैठकमा वन कार्यालयका कार्यालय प्रमुख विष्णुप्रसाद अधिकारीले वन डडेलो नियन्त्रणका लागि फागुन १ देखि अभ्यास र सचेतना शुरु हुने बताउनुभयो । उहाँले म्याग्दीमा गत वर्ष धेरै स्थानमा डडेलो लागेको र यस वर्ष पनि डडेलो शुरु भै सकेको हुनाले सबै क्षेत्रमा सचेत रहन आग्रह गरीएको बताउनुभयो ।

वन कार्यालय प्रमुखले म्याग्दीमा कुल भुभागको ४९ प्रतिशत वन क्षेत्र रहेको बताउनुभएको थियो । त्यस्तै वन कार्यालयले वन अपराध नियन्त्रण, अतिक्रमण नियन्त्रणको प्रयास गर्नुका साथै वन क्षेत्रबाट मानव वस्तीमा वन्य जन्तुले पु¥याएको क्षतीको मुआब्जा वितरण गर्ने कार्य पनि वन कार्यालयले गरेको बताउनुभयो ।

उहाँले गत आर्थिक वर्षमा जंगली जनावरको आक्रमणबाट चार वटा बाख्रा मरेकोमा ३५ हजार रुपियाँ बितरण गरेको बताउनुभयो । कार्यक्रममा जिल्ला न्यायाधिवक्ता गोविन्द उपाध्याय, प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठ, प्रमुख अनुसन्धान अधिकृत सविन श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

 

Leave a Reply