दशरथ रंगशालामा नेपाल बास्केटबल संघद्वारा आयोजित अन्तर्राष्ट्रिय थ्री बाई थ्री बास्केटबल प्रतियोगितामा नुकेश जुग्जालीले नेपाल राष्ट्रिय बास्केटबल टिमबाट सहभागि छन् । विभिन्न देशबाट सहभागी रहेको प्रतियोगिामा जुग्जालीले आफ्नो उत्कृष्ट खेल प्रर्दशन गरेका छन् ।

म्याग्दीको मंगला गाउँपालिका–१,भर्जुलाका जुग्जाली गण्डकी प्रदेश बास्केटबल टिमका सदस्य समेत हुन् । उनले बास्केटबलमा जिल्ला र प्रदेशमा उत्कृष्ट खेल प्रर्दशन गरेकै कारण अहिले अन्तराष्ट्रियस्तरका खेलाडीको सहभागितामा भइरहेको प्रतियोगितामा अवसर मात्रै पाएका छैनन् आफ्नो खेल कला प्रर्दशनमा समेत जमेका छन् ।

केही महिना अगाडी नेपाल बास्केटबल संघको आयोजनामा भएको यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगितामा जुग्जाली सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए भने सर्वाधिक गोलकर्ताको विधामा विभिन्न खेलमा पुरस्कार समेत पाएका छन ।

यु–१९ बास्केटबलमा उदयमान खेलाडीको रुपमा स्थापित भएका १९ बर्षिय जुग्जालीले म्याग्दी जिल्लाबाट समेत प्रदेशस्तरीय खेलमा सहभागि भएपछि उनको राष्ट्रियस्तरका खेलका लागि बाटो खुलेको थियो ।

गाउँको आर्दश यूवा क्लवबाट कलिलै उमेरमा अनु्भवी खेलाडीहरुसँगै खेलमा सहभागी हुने अवसर पाएका जुग्जालीलाई विभिन्न ठूला क्लवले प्रतियोगितामा अफर गर्न थालेका छन् ।

म्याग्दीका साथै पर्वत, पोखरा, काठमाण्डौमा सक्रिय रहेका बास्केटबल क्लवले राष्ट्रिय तथा क्षेत्रीय प्रतियोगितामा म्यान अफ दी म्याच, सर्वोत्कृष्ट, उदयीमान खेलाडी जस्ता अन्य विभिन्न विधाबाट सम्मानित समेत भएका छन्।

गाउँको आदर्श युवा क्लब, कालिपुल युनाइटेड क्लब, बनौ क्लवमा धेरै खेल्ने गरेका जुग्जालीलाई म्याग्दी जिल्ला बास्केटबल टिम कोच बिसन राना, पूर्व म्याग्दी जिल्ला बास्केटबल कप्तान गिमिन पुर्जा,म्याग्दी जिल्ला बास्केटबल कप्तान पुस्कल छन्त्यालले समेत प्रोत्साहन गर्ने गरेका छन् ।

‘यसपटकको खेलमा मैले राम्रो देखाउने प्रयासमा छु, यहाँ विदेशका खेलाडीहरु समेत भएकाले सिक्ने र खेल देखाउने सुन्दर अवसर पनि हो’ जुग्जालीले भने । उनले अहिले विभिन्न राष्ट्रिय च्याम्पियनमा सहभागी हुने अवसरले खेलमा सुधार भएको बताए । उनले विभागीय टोलीमा प्रवेश गरी राष्ट्रिय टिमबाट देशका लागि खेल्ने रहर रहेको बताए । पछिल्लो समय म्याग्दीमा बास्केटबल प्रतियोगिता हुन थालेपछि खेलाडीले अवसर समेत पाइरहेको उनले बताए ।

बास्केटबल खेलाडी जुग्जालीका दाजु मनकुमार जुग्जालीले उचित अवसर पाए बास्केटबलमा राम्रो सम्भावना भएको बताए । उनले बास्केटबल खेलका लागि परिवारबाट समेत प्रोत्साहनले थप उत्साहित भएको बताए । म्याग्दीमा पछिल्लो समय बास्केटबलका खेलहरु नियमित हुन थालेका छन् ।

म्याग्दीमा फुटबल, भलिबलसँगै बास्केटबल निकै लोकप्रिय छ । स्थानीयस्तरमा यूवा क्लवले नै बास्केटबलका लागि पूर्वाधार बनाउने गरेका छन् । युवा पुस्तामाझ यति लोकप्रिय भइसक्दा पनि बास्केटबलको सहभागिता र उपलब्धिका बारेमा स्थानीयस्तरमा प्रतियोगिता सञ्चालन गर्ने संघसंस्थाले भलिबल र फुटबलजस्तै प्राथमिकता भने दिने गरेका छैनन् ।

Leave a Reply