डढेलोबाट जोगाउन म्याग्दीमा सचेतना सप्ताह सुरु

0
17

डढेलो जोखिम कम गर्न डिभिजन वन कार्यालय म्याग्दीले बन डढेलो ब्यवस्थापन सचेतना सप्ताह सुरु गरेको छ। फागुन १ गतेदेखि ७ गतेसम्म चल्ने सप्ताह अन्तर्गत सदरमुकाम बेनीमा बिहिबिार एक समारोहका बिच अभियानको शुभारम्भ गरिएको छ ।

जिल्लाका ६ वटै स्थानीय तहमा रहेका डिभिजन वन कार्यालय अन्तर्गतका सामुदायिक वन, स्थानीय तहमार्फत विभिन्न संघसंस्थामार्फत वन उपभोक्ता सचेतिकरण, सर्वसाधारणमा सूचना प्रवाह, जोखिमयुक्त क्षेत्र सरसफाई, विद्यालय शिक्षा,समुदायमा डढेलो नियन्त्रणका लागि समुह गठन र परिचालनका साथै जोखिम भएका स्थानमा अग्निरेखा बनाइने छ ।

निमित्त जिल्ला समन्वय प्रमुख दिलकुमारी खत्री, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, भूमि आयोगकी सदस्य पशुपति शाही, प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठ, राष्ट्रिय अनुसन्धान प्रमुख सविन श्रेष्ठ, बराहपाखो सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष विष्णु गौतम सहितको टोलीले बराहपाखो समुदायिक बन भित्र सरसफाई तथा अग्निरेखा मर्मत गरी अभियान सुरु गरिएको थियो ।

अभियानमा कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी,र स्थानीय उपभोक्ता सहभागी थिए । हरेक वर्ष बराहपाखो सामुदायिक बनमा क्षेत्रमा डढेलो लाग्ने समस्या छ ।

डिभिजन बन कार्यालयका प्रमुख बिष्णुप्रसाद अधिकारीले वन डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन गर्दै डढेलोबाट हुने जन, धन र वनको क्षति न्यूनीकरण गर्न डढेलो सचेतना सप्ताह कार्यक्रम बाहेक पनि आफ्नो क्षेत्रमा सक्रिय हुनुपर्नेमा जोड दिए ।

गाउँ गाउँमा सचेतना सामग्री वितरण, माइकिङ, रेडियोबाट सूचना सामग्री प्रसारण, फायरलाइन रेखा सफा गर्ने, डेमो गराउने, पातपतिङ्गर हटाउने तथा जलाउनेलगायतका कार्य गर्नुपर्ने डिभिजन बन कार्यालय म्याग्दीले जनाएको छ ।

डढेलोले गर्दा हुने क्षति, प्रभाव, डढेलोबाट वन जोगाउन खेल्नुपर्ने भूमिका र चुनौतीका विषयमा व्यापक रूपमा सुसूचित गरिएको जनाइएको छ । मानवीय कारणले ९६ प्रतिशत डढेलो लाग्ने भएकाले सचेतना कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।