यस वर्ष पुस माघ महिना वितिसक्न लाग्दा पनि पानी र हिउँ नपरेपछि हिमाली तथा उच्च पहाडी क्षेत्रको जनजीवन प्रभावित बनेको छ । दिनमा राम्रोसँग घाम पनि नलाग्ने र पानी पनि नपर्ने वातावरणीय समस्याका कारण बालबालिका र बृद्धबृद्धाहरुलाई समस्या भएको छ भने खेतबारीमा लगाइएको तरकारी र हिउँदेबाली ओइलाउन थालेको कृषकहरुले बताएका छन् ।
हिउँद सकिनै लाग्दा पनि हिउँदे वर्षा र हिमपात नहुँदा खेतीबाली राम्रो नहुने भएकोले म्याग्दीका किसानहरु चिन्तित भएका छन् ।
विगतका वर्षमा मङ्सिर तेस्रो सातादेखि नै हिउँ पर्ने म्याग्दीका उच्च पहाडी क्षेत्र र मुस्ताङमा यस वर्ष माघको अन्तिम साता वितिसक्दा पनि हिउँ र पानी नपर्दा गहुँ,तोरी,आलु लगाएत हिउँदे बाली सप्रिन नपाएकोले किसान चिन्तित बनेका हुन् ।
यस वर्ष मंसिरयता पानी नपरेपछि किसानले लगाएको हिउँदे खेती सिंचाइको अभावमा खेत वारीमा नै ओइलाउँदै गएको मंगला गाउँपालिका २ का कृषक श्याम जैसीले बताउनुभयो । “विगतमा यतिबेला खेतबारी र डाँडापाखा हिउँले ढाकिने गरेकोमा यसवर्ष पानी समेत परेको छैन,खेतबारीमा लगाएको बाली सुक्न थालेको छ”जैसीले भन्नुभयो ।
म्याग्दी जिल्लाको माथिल्लो क्षेत्रमा गएका वर्षहरुमा पुस लाग्न नपाई हिउँ पर्ने गर्दथ्यो । यस वर्ष उच्च हिमाली क्षेत्रका ठाउँमा हिउँ र पानी समेत नपर्दा आलु, उवा, गहुँ जस्ता बाली बारीमै सुक्न थालेको किसानहरू बताउँछन् ।
पानी र हिउँ नपर्दा बारी सुक्खा बन्दै गएको छ भने लगाइएका बाली सुक्दै गएको धवलागिरि गाउँपालिका ४ का किसान मेखबहादुर विकले बताउनुभयो । समयमा हिउँ र पानी नपरे पनि यो वर्ष गतवर्ष भन्दा धेरै चिसो महसूस भएको उच्च लेकाली क्षेत्रका वासिन्दाहरुको भनाइरहेको छ ।
हिउँ पर्ने समयमा हिउँ नपरेको र जलवायुको तापक्रम समेत बढ्दै गएकाले यहाँका बासिन्दा चिन्तित छन् । वनजंगलको तीव्र फँडानी, विभिन्न हानिकारक ग्यासको उत्सर्जन लगायत कारण जलवायुमा परेको असरले वातावरणमा यस्तो परिवर्तन देखापरेको वातावरणविद् अशोक सिग्देलले बताउनुभयो ।
“मंसिरदेखि नै प्रायः जसो हिमपात हुन्थ्यो । अहिले त माघ वितिसक्दा पनि हिउँ परेन,” मालिका गाउँपालिका २ रुमका किसान टेकबहादुर सिर्पालीले भन्नुभयो “आकाशमा अलिअलि मात्र बादल लागेको छ । हिउँ पर्ने अझै कुनै छाँटकाँट छैन ।”