म्याग्दी जिल्लामा उत्पादित टिमुर जापानमा म्याग्देलीले सञ्चालन गरेका होटल,रेष्टुरेन्ट तथा मार्टमा पाइन्छ । औषधीय गुणयुक्त मसला र गेडा टिमुर नेपाली रेष्टुरेन्ट सहित नेपालीहरुको भान्सामा पाक्ने परिकारका लागि माग बढेपछि पछिल्ला केही बर्ष यता म्याग्दीबाटै निर्यात हुन थालेको छ ।
जापानमा जाने आफन्तले कोशेलीको रुपमा मात्रै नभई ब्यवसायीक रुपमा समेत बिक्री गर्ने गरिएको टोकियो सिन्जुकुस्थित सिन ओकुबामा रहेको कान्तिपुर मार्टका सञ्चालक बिबेक खड्काले बताउनुभयो । ‘टिमुरको माग धेरै छ, हामीले हरेक दिन बिक्री गछौं, नेपालीसँगै बिदेशीको समेत रोजाईम परेको छ’ खड्काले भन्नुभयो ।
म्याग्दीबाट जापानमा गएका र विभिन्न जिल्लाबाट शिक्षा, ब्यापारका लागि पुगेकाहरुले म्याग्दीमा पाइने टिमुरको माग गर्ने गरेका छन् । मोना जापानका सल्लाहकार एवम् होटल ब्यवसायी राम खड्काले नेपाली टिमुर अहिले जापानीको समेत रोजाइमा परेको बताउनुभयो ।
नेपालबाट जाने टिमुर जापानमा पुग्दा तेब्बर पर्ने गरेको छ । जापानमा पाकिङ सहित प्रष्ट खुल्ने विवरण उल्लेख गरिएपछि मात्रै ढुवानी गर्ने पाइन्छ । टोकियोस्थित सिन ओकुबो मा सञ्चालन गरेको नाङ्घलो घर रेष्टुरेन्टका सञ्चालक सचिन श्रेष्ठका अनुसार नेपाली परिकारमा टिमुरको खोजी गर्ने ग्राहकको सख्या बढेपछि नेपालबाट मगाउने गरेको बताउनुभयो ।
‘हामीले म्याग्दीकै खोज्छौ, यहाँसम्म आएपछि हाम्रो जिल्लाको भनेर समेत ग्राहकलाई बताउँछौ’ श्रेष्ठले भन्नुभयो । म्याग्दीको टिमुरलाई बजारको अभाव नभएकाले खेती विस्तार गर्न समेत मोना जापानका निवर्तमान अध्यक्ष समेत रहनुभएका श्रेष्ठले अनुरोध गर्नुभयो ।
गतबर्ष मोना जापानले आयोजना गरेको मोना फेटिबलमा समेत टिमुर सहित म्याग्दीका अर्गानिक सामानको प्रचारप्रसार गरिएको थियो ।बेनी नगरपालिका–३ भकिम्ली राखुका प्रदिप घर्तीमगरले म्याग्दीमा उत्पादन भएको टिमुर खोजीखोजी लैजाने गरेको बताउनुभयो । टिमुरलाई भान्साका विभिन्न परिकारमा मसलाको रुपमा प्रयोग गरिन्छ।
मुखमा राख्दा रमरम गर्ने स्वाद पाइने टिमुरको प्रयोगबाट न्यानोपन बढ्नाका साथै मासु,तरकारी, दाल र अचारमा मसलाको रुपमा तथा जडीबुटीको रुपमा प्रयोग गरिन्छ। टिमुर बिज्ञ अधिकृत चन्द्रमणि सापकोटाले खाद्यान्न बाली उत्पादन नहुने खोल्सा र भिरालो जमिनमा गरिएको टिमुर खेती म्याग्दीका किसानका लागि आम्दानीको माध्यम बन्दै गएको छ।
आर्युवेदिक गुणको उत्पादित टिमुर अब नेपालका भान्छामा मात्र सीमित नरहेर विश्वबजारमा समेत पुग्न थालेपछि अब थप खेती विस्तार गर्नुपर्ने सापकोटाको भनाई छ । असोज–कात्तिक महिना टिमुर टिप्ने उपयुक्त समय भए पनि यस वर्ष फलेको फल बोटमै पकाएर टिप्ने गरिन्छ । म्याग्दीमा सबैभन्दा धेरै टिमुर खेती बेनी नगरपालिका १० तोरीपानीमा हुने गरेको छ। टिमुर कृषक आनन्द रिजालका अनुसार गत वर्ष यहाँ पचास मुरी भन्दा बढी टिमुर उत्पादन भएको थियो।