प्राकृतिक चिकित्सालयको रुपमा ख्याती कमाएको म्याग्दीको बेनी नगरपालिका ४ सिंगा तातोपानीमा अवस्थित तातोपानी कुण्डमा डुब्न आउने विरामीहरुबाट लिइएको प्रवेश शुल्क वापतको आम्दानी तातोपानी कुण्ड व्यवस्थापन समितिले शिक्षा र पूर्वाधार निर्माणमा लगानी गरेको छ ।
नेपालका विभिन्न अस्पतालहरुमा उपचार गराएर रोग निको नभएका दीर्घरोगीहरुको अन्तिम उपचार स्थल बन्दै गएको तातोपानी कुण्डको आम्दानीबाट स्थानीय सरस्वती माध्यमिक विद्यालयमा वार्षिक रु १८ लाख सहयोग हुने गरेको छ । तातोपानी कुण्डको आम्दानीबाट विद्यालयमा दरबन्दी बाहेकका तीन जना शिक्षक राखेर पठनपाठन गरिदै आइएको छ ।
“तातोपानी कुण्डको आम्दानीबाट यहाँको सरस्वती माध्यमिक विद्यालयमा शिक्षक राखिएको छ ” तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले भन्नुभयो “शिक्षकलाई तलब खुवाउनका लागि वार्षिक रु १८ लाख विद्यालयलाई दिने गरिएकोमा गत वर्षदेखि मासिक रु एक लाख दिने निर्णय भएको छ ।”
“गत वर्षको मंसिरसम्म निजी स्रोतबाट छ जना शिक्षकलाई तलब खुवाउदै आइएकोमा पुस महिनादेखि दरबन्दीका शिक्षक आए पछि तीन जनालाई मात्र तलब खुवाउनु पर्ने भएकोले मासिक रु एक लाख विद्यालयलाई दिने निर्णय गरेका छौं” अध्यक्ष खड्काले भन्नुभयो ।
तातोपानी कुण्डबाट वार्षिक एक करोड ४० लाख रुपैयाँ आम्दानी हुनेगरेको छ । प्रवेश शुल्कलगायत विभिन्न शीर्षकबाट प्राप्त सो आम्दानी शिक्षा,पूर्वाधार निर्माण,कर्मचारीको तलवभत्ता,नगरपालिकालाई कर लगाएतमा खर्च हुने गरेको अध्यक्ष खड्काले बताउनुभयो ।
नगरपालिकालाई कुण्डको कुल आम्दानीको २५ प्रतिशत र आन्तरिक राजस्व कार्यालयलाई १३ प्रतिशत कर बुझाउने गरिएको र वाँकी रहेको रकम कुण्ड व्यवस्थापन,पूर्वाधार निर्माण,कर्मचारीको पारिश्रमिक र विद्यालयलाई सहयोगमा खर्च हुनेगरेको उहाँले बताउनुभयो ।
अध्यक्ष खड्काका अनुसार रु आठ लाखको लागतमा तातोपानीमा नुहाउन आउने महिला र पुरुषहरुका लागि कपडा फेर्ने अलग अलग कोठा निर्माण गरिएको छ । त्यसैगरी रु २० लाखको लागतमा प्राचिनता झल्कने कलात्मक प्रवेशद्धार (गेट) निर्माण गरिएको छ । तातोपानीमा पूर्वाधार निर्माणका लागि गत वर्ष पर्यटन बोर्डबाट रु १५ लाख सहयोग भएको पनि उहाँले बताउनुभयो । कुण्डमा एक पटकमा ३५० देखि ४०० जनासम्मले स्नान गर्न सक्छन् । ७ दिन स्नानका लागि प्रतिव्यक्ति ३५० रुपैयाँ शूल्क तोकिएको छ ।
म्याग्दी नदीको किनारमा प्राकृतिक रुपमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी संकलन गरिएको तलाउमा स्नान गरेर उपचार र अवलोकनका लागि प्रयोग भइरहेको छ । कुण्ड व्यवस्थापन समितिका अध्यक्ष खड्काका अनुसार बिरे नूनको गन्ध नआउने पानी संकलन गरिएको छ । यो पानीमा डुबुल्की मार्नेको छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेको लगायत निको हुने जनविश्वास छ ।