---Advertisement---

पाठा निकाल्न माउको शल्यक्रिया

On: February 14, 2025 7:34 PM
Follow Us:

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीमाा शुक्रबार गरेको शल्यक्रियाबाट दुई वटा पाठा निकालीएको हो ।  बेनी नगरपालिका-३ हल्लेगौडाका कृषक राजेन्द्र घर्तीले पालेको बाख्रा व्यथा लागे पनि सहज तरिकाले ब्याउन नसके पछि बेनपाको पशु शाखामा सम्पर्क गरेपछि पशु शाखाका प्रावधिकि प्रदिप गौतमले कृषककहाँ पुगेर प्राविधिक सहायता प्रदान गर्नुभएको थियो ।

उहाँले औषधि दिएर प्रयास गर्दा पनि सहज डेलिभरी नभए पछि भेटेरीनरी अस्पताल म्याग्दीमा ल्याए पछि शल्यक्रिया मार्फत दुई वटा पाठापाठी निकालीएको हो ।

केन्द्रका प्रमुख डा. भरत रेग्मीको नेतृत्वमा बेनी नगरपालिकाका पशु शाखाका प्रमुख डा. आशिष सापकोटा,अधिकृत छैठौँ प्रदिप गौतमसहितको टोलीले बाख्राको स्वास्थ्य परीक्षण गरी शल्यक्रियाबाट एक पाठा र एक पाठी सकुसल निकालिएको थियो। डा.रेग्मीका अनुसार पाठापाठी जिवित निकालेर कृषकले लिएर घर लाग्नु भएको थियो । सामान्यतया बाख्रा पाँच महिनामा ब्याउन पर्ने भए पनि यो गर्भवती भएको बाख्रा छ महिना पुगी सकेको थियो ।

बेनी नगरपालिका तथा भेटेरीनरी अस्पतालबाट पनि प्राविधिकहरु घरमै पुगेर औषधि प्रयोग गरेर डेलिभरि गराउने प्रयास गरेको भएपनि उक्त प्रयास सफल भएको थिएन । त्यस पछि बाख्रालाई भेटेरीनरी अस्पताल बेनीमा ल्याए पछि पनि औषधिकै माध्यमबाट प्रयास गर्दा नभए पछि शल्यक्रिया गरेरै पाठा निकालीएको उहाँले बताउनुभयो ।

म्याग्दीमा बाख्रापालकले गर्भिणी अवस्थामा लामो समयसम्म समस्या देखिएका बाख्रालाई समयमै चेकजाँच नगर्दा खोरमै मर्ने गरेको अवस्थामा यो सेवाले धेरै कृषकले जानकारी पाउने केन्द्रले जनाएको छ। केन्द्रमा अस्पताल विशिष्टीकृत सेवाहरू सम्बन्धित कक्षबाट प्रदान भइरहेको केन्द्र प्रमुख रेग्मीको भनाई छ। केन्द्रले मान्छेको जस्तै पशुका रोग पनि प्रयोगशालाबाट परीक्षण पश्चात उपचार गर्ने पद्धति सुरु गरिसकेको छ।

केन्द्र र बेनी नगरपालिकामा लामो समय पशु स्वास्थ्य क्षेत्रमा काम गरेका अनुभवी दक्ष पशु चिकित्सक तथा प्राविधिकहरूको टोलीले पशुपालक कृषकको गोठमै पुगेर समेत जटिल उपचार तथा प्रयोगशालाबाट समेत पशु चिकित्सा सेवा दिइरहेका छन्।  विगतमा पशुचौपायाको हेरेर वा छामेर गरिने उपचार पद्धति अहिले प्रयोगशालाबाट ल्याब सर्भिसबाटै रोग पत्ता लगाई उपचार गर्ने गरिएको छ।

भेटेरीनरी अस्पतालले दुई महिना अगाडी पनि बेनी नगरपालिका–६ एकपाटेका बालकृष्ण आचार्यको बाख्राको पनि सल्यक्रिया गरेर पाठा निकालेको थियो ।