म्याग्दीको मंगला गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा जिल्लामा पहिलो स्थान हाँसिल गरेको छ।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष ०८०÷०८१ मा गरेको कार्यसम्पादन मूल्याङ्कनमा म्याग्दीका छ वटा स्थानीय तह मध्य मंगला गाउँपालिका पहिलो बनेको हो ।

यसपटक म्याग्दीका सबै स्थानीय तहले विगतका बर्षको तुलनामा नतिजामा सुधार गरेका छन् ।

बेनी नगरपालिका ६७.२७ अंक, रघुगंगा गाउँपालिका ६९.४ अंक, मालिका गाउँपालिका ६८.७ अंक ,अन्नपूर्ण गाउँपालिका ६० अंक, धवलागिरी गाउँपालिका ४०.९ अंक पाएको छ । आयोगले विभिन्न १७ वटा सूचकमा १०० पूर्णाङ्क राखेर गरेको मूल्याङ्कन गरेर माघ ३० गते नतिजा सार्वजनिक गरेकोमा मंगला गाउँपालिकाले जिल्लाका छ वटा स्थानीय तह मध्य सबैभन्दा बढी ६९.५ अंक पाएको छ ।

अघिल्लो आर्थिक वर्षमा कार्यसम्पादन मूल्याङ्कनमा क्रमश मंगला गापा ३४.८२ अंक, बेनी नगरपालिका ३५.२७ अंक, रघुगंंगा गापा २०.६० अंक, मालिका गापा ३४.८२ अंक, अन्नपूर्ण गापा २७.६० अंक पाएका थिए । म्याग्दीमा कार्यसम्पादनमा मंगला अगाडी छ भने सबैभन्दा कमजोर धवलागिरी रहेको छ ।

आयोगले गरेको मूल्याङ्कन नतिजाको आधारमा स्थानीय तहलाई संघीय संचित कोष तथा प्रदेश संचित कोषबाट प्रदान गर्ने वित्तीय समानीकरण अुनदान अन्तर्गत् कार्यसम्पादन मूल्यांकनका आधारमा अनुदान सिफारिस गर्ने भएकाले पनि स्थानीय तहले कार्यसम्पादनलाई निकै महत्वका साथ हेर्ने गरेका छन् ।यसैबिच मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले सीमित स्रोत र साधनका बाबजुद पनि प्रभावकारी काम गर्न सकेकामा उनले खुशी व्यक्त गर्नुभएको छ ।

उहाँले अहिलेको सफलता जोगाइराख्नु चुनौतीपूर्ण रहेको उल्लेख गदैं आगामी बर्षको कार्यसम्पादनमा पनि पहिलो हुने गरी जनशक्ती परिचालन गर्ने बताउनुभयो । कार्यसम्पादन मुल्यांकलन नतिजासँगै सुशासन, राज्यको लक्ष्य प्राप्ती, समुदायस्तरमा परिचालिन बजेट तथा कार्यक्रमहरुको प्राप्त नतिजा समेत भएको अध्यक्ष रोकाको भनाई छ ।

आयोगले प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश तथा पालिकाको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि–२०७८ अनुसार अङ्क प्रदान गर्दछ । असार १० भित्र बजेट पेस गरेरनगरेको, असार मसान्तभित्र बजेट पास गरेरनगरेको, वार्षिक बजेट समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे–नगरेको, विनियोजित रकमअनुसार खर्चको अवस्था, बेरूजु, आवधिक योजनाको तर्जुमा, कक्षा १ देखि ८ सम्म विद्यार्थी भर्ना दरलाई वित्त आयोगले सूचकको रूपमा मापन गरेको छ ।

त्यसैगरी कक्षा ८ को तुलनामा कक्षा ९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा एक दशमलव छ वा सोभन्दा बढी जिपिए प्राप्त गरेका विद्यार्थी प्रतिशत, चारपटक गर्भजाँच गरेको महिलाको अनुपातलगायत १७ सूचकका आधारमा वित्त आयोगले अङ्क प्रदान गर्छ ।

 

Leave a Reply