म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तराष्ट्रियका कोषाध्यक्ष नरेन्द्र फगामीले मंगला गाउँपालिका–२,लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसको मुद्दती÷अक्षयकोष तथा आर्थिक सङ्कलन अभियानमा १ लाख ११ रुपेयाँ सहयोग गर्नुभएको छ । क्याम्पसको ‘एक घर एक दान’ अभियानमा मोना कतारका पूर्व अध्यक्ष एवम् संरक्षक समेत रहनुभएका फगामीले सहयोग गर्नुभएको हो ।

मालिका गाउँपालिका–५, मगरदाङ निवासी फगामीले पश्चिम म्याग्दीको ’शैक्षिक हब’ को रुपमा विकसित हुदै गएको क्याम्पसको अभियानबाट उत्साहित भएका उक्त सहयोग गरेको बताउनुभयो ।

‘सदरमुकाम बाहिरको क्याम्पसलाई स्रोतसाधनबाट पनि अब्बल बनाउनुपर्छ, गाउँमै क्याम्पस स्थापित गरेर धेरैलाई उच्च शिक्षाको बाटो देखाउनुभएको छ’ फगामीले भन्नुभयो । समुदायको प्रयासमा समुदायकै लगानीमा स्थापित क्याम्पसलाई सानो सहयोग गर्न पाएकोमा खुसी लागेको बताउनुभयो ।

क्याम्पस अध्यक्ष याम थापाले प्रवासमा रहेका म्याग्देलीबाट क्याम्पसको जग्गा खरिद, शैक्षिक तथा भौतिक गतिविधिमा उल्लेखनीय सहयोग भएको बताउनुभयो । ‘सहयोगदाता फगामी क्याम्पसमा पुगेपछि त्यहाँ भएका प्रयासबाट खुसी हुनुभएको थियो, कतार फर्किएपछि सहयोग पठाउनुभयो’ अध्यक्ष थापाले भन्नुभयो ।

क्याम्पसले पहिलो चरणमा गाउँपालिकाभित्रका ३७ सय घरधुरीबाट स्वदेश तथा विदेशमा रहेकालाई प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट क्याम्पसको शैक्षिक कोषमा सहयोग जुटाउने अभियानमा जिल्लाका अन्य स्थानीय तहबाट समेत सहयोग आउन थालेको क्याम्पस सञ्चालक समितिकी उपाध्यक्ष एवम् आर्थिक समिति संयोजक योसुदा रोकाले बताउनुभयो ।

समुदायबाटै प्राप्त सहयोगबाट सञ्चालित क्याम्पसले यो अभियानमार्फत पूर्व कालिन प्राध्यापकलाई तलब सुविधा, क्यूएए प्रक्रियाका पूर्वाधारहरू तयार गर्न, गरिब तथा विपन्न वर्गका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न, क्याम्पस र समुदायको सम्बन्ध बलियो बनाउन घरदैलोमा पुगेको टोलीले क्याम्पसका हालसम्मको गतिविधिका बारेमा समेत जानकारी गराउने गरेको छ ।

क्याम्पसले १२ लाख सहयोग गर्नेलाई संरक्षक, ७ लाख सहयोग गर्नेलाई सम्मानार्थ संरक्षक, १ लाख सहयोग गर्नेलाई आजीवन सदस्य, ५० हजार सहयोग गर्नेलाई वरिष्ठ सदस्य र ५० हजारभन्दा कम सहयोग गर्नेलाई क्याम्पस सभा सदस्य प्रदान गरेको छ ।

पश्चिम म्याग्दीमा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई सदरमुकाम वा जिल्लाबाहिर थप अध्ययनका लागि जानुपर्ने अवस्थाको अन्त्य गर्न क्याम्पसको पूर्वाधार अभियानमार्फत संकलित आर्थिकबाट बाबियाचौरकै लाम्पाटामा ३३ रोपनी जग्गासमेत खरिद गरी क्याम्पसको भवन, प्रशासनिक भवन, छात्रावास सहितको संरचना समेत बनेको छ।

हाल शिक्षा शास्त्र सङ्कायमा स्नातक तहमा २४० जना विद्यार्थी अध्ययनरत छन्।सहरमा पढ्न जान खर्च नभएर छाडेका धेरै छोरी बुहारीलाई वरदान साबित भएको क्याम्पस समुदायको जगमै स्थापित भएको क्याम्पसले विश्वविद्यालयले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली(क्यूएए) प्रमाणपत्र प्राप्तिको अभियानमा समेत जुटेको छ।

 

Leave a Reply