‘अन्तर्दृष्टि प्रस्फुटनका लागि शिक्षा’ भन्ने मूल नारासहित आयोजित १२औँ अन्तरमावि कक्षा १० सम्मको विज्ञान हाजिरीजवाफ प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालय प्रथम भएको छ ।
म्याग्दी सदरमुकाम बेनीमा सञ्चालित प्रकाश माविको आयोजना, युवा रेडक्रस सर्कल प्रकाश माविको व्यवस्थापन, प्रकाश बाल क्लब र गणित–विज्ञान क्लब प्रकाश माविको सहयोगमा सम्पन्न प्रतियोगितामा आयोजक विद्यालय प्रकाश मावि नै प्रथम बनेको हो ।
 ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर आयोजित विज्ञान हाजिरीजवाफ प्रतियोगितामा लिटिल गार्डेन एकेडेमी द्वितीय, बेनी सामुदायिक मावि तृतीय र न्यू होराईजन एकेडेमी पर्वत बेनी सान्त्वना भएका छन् । प्रतियोगितामा सहभागी कुल १८ वटा विद्यालयहरुमध्ये प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यालयलाई क्रमशः नगद आठहजार, छ हजार, चारहजार र दुईहजार रुपैयाँसहित ट्रफी तथा प्रमाणपत्रले पुरस्कृत गरिएको विद्यालयका सहायक प्रधानाध्यापक विनय श्रेष्ठले जानकारी दिनुभयो ।
उक्त प्रतियोगितामा भौतिक, रसायन, जीवशास्त्र, गणित, प्रयोगात्मक, ¥यापिडफायर राउण्डलगायत विषयमा आधारित रहेर प्रश्नहरु सोधिएको थियो । हाजिरीजवाफ प्रतियोगिताको शिक्षकहरु श्यामबाबु सिं, कविराम थापा, ममता थापा, डिलप्रसाद श्रेष्ठ, टेकप्रसाद सुवेदी र भगवान कार्कीले सहजीकरण गर्नुभएको थियो । प्रतियोगिताको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले हाजिरीजवाफलगायत क्रियाकलापहरुले विद्यार्थीहरुमा रहेको क्षमताको विकास गर्ने भएकाले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
विद्यालयका प्रधानाध्यापक लेखबहादुर हमालले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा सहायक प्रअ टेकप्रसाद सुवेदीले हाजिरीजवाफ प्रतियोगिताको नियमबारे जानकारी गराउनुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण श्रेष्ठको अध्यक्षता, सहायक प्रअ विनय श्रेष्ठको सञ्चालन र प्लस टु संयोजक कविराम थापाले स्वागत गर्नुभएको कार्यक्रममा विद्यार्थीहरुबाट स्वागत नृत्य प्रस्तुत भएको थियो ।

Leave a Reply