म्याग्दीको पौराणिक स्थल बेनी नगरपालिका-५,पछैमा निर्माणधिन अवस्थामा रहेको रावण पार्क (उद्यान) रमा राखिने रावणको ६ मिटर अग्लो मूर्तिको निर्माण कार्य रोकिएको छ । रावणको मुर्ती राख्ने विषयमा असहमति जनाउदैं हाल भारतमा बस्ने पर्वतका केदारनाथ दासले गत असार १८ गते सर्वोच्चमा निवेदन दिएका थिए ।

सर्वोच्चमा रिट दायर गरेपछि मूर्तिको खुट्टा पार्कभित्र रहेपनि शरीर र शिरको ढुवानी रोकिएको हो । बि.स २०७७ सालमा सुरू भएको परियोजना अन्तरगत मुल मन्दिरभन्दा पर रावणको मूर्ती सहितको पार्क निर्माण गरिएपनि मुद्धा परेपछि काम रोकिएको पुलस्त्य पुलह क्षेत्र विकास कोषका अध्यक्ष लिलाबहादुर बानियाँले बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उद्यन मन्त्रालयसँगको साझेदारीमा बेनी नगरपालिकाको गौरवको योजना अन्तरगत पर्ने उद्यान निर्माणको कार्यमा अवरोध भएको वडा अध्यक्ष गोविन्द बानियाँले बताउनुभयो ।

‘मूर्तीका बारेमा विचाराधिन मुद्धा किनारा लागेपछि धमाधम काम हुन्छ, यो जिल्लाकै धार्मिकस्थल हो’ अध्यक्ष बानियाँले भन्नुभयो । मन्त्रालय र नगरपालिकाको ७०÷३० को सहकार्य रावणको मूर्तिसहित पार्क निर्माण भइरहेको थियो ।

बि.स २०७७ सालमा सुरु भएको काम बिचमा केही समय रोकिएपनि पछिल्लो समय निर्माण कार्य चलिरहेको थियो । पार्कमा रावणको ६ मिटर अग्लो मूर्ति बाहेक अन्य कामहरु भने रोकिएको छैन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, बेनी नगरपालिका, पुलत्स्य–पुलाहश्रम क्षेत्र विकास कोषलाई विपक्षी बनाएर सर्वोच्चमा रिटको चैत्र महिनाभित्र टुंगो लागेपछि नगरपालिकाले थप स्रोतको समेत खोजी गरी धार्मिक पर्यटकको गन्तब्य बनाउने कार्यलाई तिब्रता दिने नगरप्रमुख सुरत केसीले बताउनुभयो ।

रावण उद्यान बनाउन गत भदौमा काठमाडौको धर्मा एस कास्यप जेभीले गत सोही महिनामा रु. एक करोड ७६ लाख ७७ हजार ५६३ मा ठेक्का सम्झौता गरेको थियो।

पर्यटन मन्त्रालयले दुई करोड ११ लाख र नगरपालिकाले एक करोड १४ लाख बिनियोजन गरेर ठेक्का आव्हान गरेको अवस्थामा अहिले रावणको मुर्ति, बगैचा, बिश्राम स्थल लगायतका पुर्बाधार तयार भइरहेको थियो । चौध रोपनी क्षेत्रफलमा फैलिएको पुलह पुलत्स्य क्षेत्रको चार रोपनीमा सो उद्यान बनाउन लागएको हो ।

पुलस्त्य पुलहाश्रम क्षेत्र विश्वका अति पवित्र तिर्थस्थलमध्ये पर्ने शास्त्रमा वर्णन गरिएको छ । हवन कुण्डको ओढारभित्र यज्ञका अवशेष चरु भेटिनुले पनि यो ठाउँको महत्व उजागर गरेको स्थानीयको भनाइ छ। पौलस्त्य मन्दिर नजिकै रावणको नाभी गाडिएको ढुंगा (पत्थर) समेत छ। पछैमा दक्षिण भारत, भुटान र श्रींलकाबाट आएका धार्मिक तिर्थयात्री जोखिम मोलेर पैदल तथा सडक सञ्जालबाट पुग्ने गरेका छन्।

Leave a Reply