पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको दुई छुट्टाछुट्टै स्थानमा मंगलबार विहान भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ५ बजेर ५२ मिनटमा मालिका–३,डाँडागाउँमा ३.४म्याग्निच्यूडको भूकम्प र वडा नं ५ देविस्थानमा विहान ६ बजेर १३ मिनेटमा ३.४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भुकम्पको धक्का महसुस भएको क्षेत्रमा जमिन हल्लिएको र छिमेकी धवलागिरी गाउँपालिकाको ताकममा समेत धक्का महसुस भएको स्थानीय गोपाल आचार्यले बताउनुभयो । भुकम्पको धक्का महसुस मालिका गाउँपालिका र धवलागिरी गाउँपालिकाका विभिन्न बस्तीमा भएको छ। यो पराकम्प नभई छुट्टै भूकम्प हो ।
पश्चिम म्याग्दी र छिमेकी जिल्ला बागलुङमा दुईदशक यता ४ देखि ५ रेक्टरस्केलका भूकम्पको २० पटकभन्दा बढी धक्का महसुस भएको मापन केन्द्रको तथ्याङ्कले देखाएको छ । म्याग्दीको धौलागिरी हिमालको फेद हुदै एउटा भुकम्पको फल्ट रहेकाले पश्चिम म्याग्दीमा साना धक्का महसुस भइरहेको छ ।