म्याग्दीको मंगला गाउँपालिका–२,ताराखेतस्थित एक घरबाट गरगहना र नगद चोरी गरेको आरोपमा दुई यूवा पक्राउ परेका छन् । स्थानीय प्रेमलाल पौडेलको घरमा मध्यरातमा ढोका फोडी दुई वटा दराजमा राखिएको सुनको तिलहरी, सिक्री, हार लगायतका गरगहना चोरीमा संलग्न मंगला गापा-२, का २६ बर्षिय बिकास बानियाँ, धवलागिरी गाउँपालिका–४,खिवाङका २० बर्षिय शुशिल किसानलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी सागर पौडेलले बताउनुभयो ।
गत फागुन १० गते मध्यरातमा अभियुक्तले घरभित्र प्रवेश गरी सुनको तिलहरी १, औंठी २, बाला–१ कानको झुक्का–२,सिंक्री–२ रानीहार–१, मिनी हार–१,ठुलो मुन्द्रा–२,–सानो मुन्द्रा १, घडी र केही नगद चोरी गरेको भेटिएको थियो । चोरीमा संलग्नलाई प्रहरीले केरकार गरेपछि जमिनमुनी लुकाइरहेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत म्याग्दीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ।