म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वर शिवालय मन्दिरमा महाशिवरात्री पर्वको सम्पूर्ण तयारी पूरा भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।
महाशिवरात्रि पर्वमा विभिन्न क्षेत्रबाट मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई गलेश्वर बजारको प्रवेशद्धारदेखि नै सहज हुने गरी तयारी गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधबप्रसाद रेग्मीले बताउनुभयो ।
‘भक्तजनलाई गरगहना र बहुमुल्य साम्रागी साथै लिएर नआउन अपिल गरेका छौ’ अध्यक्ष रेग्मीले भन्नुभयो । शिवरात्री पर्वको अवसरमा २६ सदस्यीय उपसमिति गठन गरिएको छ ।
प्रवेशद्धारदेखि मुलमन्दिर आसपासका क्षेत्रमा प्रहरी, गलेश्वरका आमा समुह विभिन्न संघसंस्थाले स्वयमसेवकको भूमिका सहित मन्दिर प्रवेशमा सहज बनाउन,भक्तजनको सुरक्षा, पुजाआजालाई सहज बनाइने छ । ब्यक्तिगत तथा सार्वजनिक सवारीका साधानमा आउने भक्तजनहरुले गलेश्वरको प्रवेशद्धारमै पार्किङ गरी पदैलयात्रा गर्नुपर्ने छ । बेनी–गलेश्वरखण्डमा प्रहरी चौकी नजिकै पार्किङस्थलमा ट्राफिक प्रहरी सहित स्वयमसेवक समेत उपस्थिति हुनेछन् ।
त्यस्तै मन्दिरको प्रवेशद्धारबाट लाइनमा बसेर पुजाआजा गरेपछि फर्कने ब्यवस्था मिलाइएको छ । भक्तजनलाई मन्दिरका महत्वपुर्ण स्थानमा जडान गरिएका सिसी क्यामेरालाई सचिवालयबाट निगरानी गरिने कोषका कार्यालय प्रमुख रामबहादुर बानियाँले बताउनुभयो । मन्दिरका सबै क्षेत्रमा घुम्ती टोलीको समेत ब्यवस्था गरिएको छ । भक्तजनलाई कुनै पनि समस्या आइपर्न सक्ने सम्भावनलाई मध्यनगर गरेर स्वयमसेवक परिचालन गरिने समेत कोषले जनाएको छ ।
पवित्र कालिगण्डकी नदी किनारमाथिको ९रोपनी क्षेत्रफलमा विशाल चक्रशिलामा फैलिएको गलेश्वर शिवालयमा पुजापाठ गर्न भक्तजनको घुइँचो लाग्ने गर्दछ । कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री गरी चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रुपमा शिवरात्रीको दिनलाई पुराणमा उल्लेख गरिएको छ । शिवरात्रीलाई सबै प्रकारका दुःख र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको वास गराउने शिवको अति प्यारो दिनका रूपमा लिइने प्रचलन समेत रहेको छ ।