पश्चिम म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा मङ्गलबार ७ पटक भूकम्पको धक्का महसुस भएको छ । बिहान ५ बजेर ५२ मिनटमा मालिका–३, डाँडागाउँमा ३.४ म्याग्निच्यूडको भूकम्प र वडा नं ५ देविस्थानमा बिहान ६ बजेर १३ मिनेटमा ३.४ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो ।
त्यस्तै धवलागिरि गाउँपालिका–३, मुनामा बिहानै ९ बजेर १८ मिनेटमा ३.४ म्याग्निच्यूड र वडा नं ४ मुदीमा ९ बजेर २६ मिनेटमा ३.६ म्याग्निच्यूडको भुकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भुकम्पविद् भरत कोइरालाले जानकारी दिनुभयो ।
“त्यस आसपासका क्षेत्रमा ७ पटक भुकम्प गएको छ, समुदायस्तरमा त्रसित हुनुपर्ने अवस्था छैन, सतर्कता आवश्यक छ,” भूकम्पविद् कोइरालाले भन्नुभयो, “यो पराकम्प नभई छुट्टै भूकम्प हो । म्याग्दी र बागलुङ क्षेत्रमा भूकम्पको धक्का महसुस भइरहन्छ । पश्चिम म्याग्दी र छिमेकी जिल्ला बागलुङमा दुई दशक यता ४ देखि ५ रेक्टरस्केलका भूकम्पको २० पटकभन्दा बढी धक्का महसुस भएको मापन केन्द्रको तथ्याङ्कले देखाएको छ ।”
स्विजरल्यान्डको लुजान युनिभर्सिटीबाट पीएचडी गर्नुभएका डा.शिव सुवेदीले म्याग्दीको धौलागिरि हिमालको फेद हुँदै एउटा भुकम्पको फल्ट रहेकाले बेलाबेलामा हलचहल भइरहने बताउनुभयो । भूकम्पको मुख्य कारण प्लेट टेक्टोनिक्स भएको र म्याग्दी र बागलुङ क्षेत्र नेपाल इन्डियन प्लेट र तिब्बतियन प्लेटको घर्षण हुने ठाँउमा भएकाले जब इन्डियन प्लेट तिब्बतियन प्लेट मुनि घुस्छ जमिनमा शक्ति संचय गरी बाहिर आउने क्रममा धक्का महसुस हुने गरेको डा. सुवेदीको भनाइ छ । वि.स २०७४ साल असोज ३० गते धवलागिरि गापा–३,मुनालाई केन्द्रविन्दु बनाएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको थियो।