म्याग्दीको बेनी नगरपालिका-९,गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वर शिवालय मन्दिरमा महाशिवरात्री पर्वमा विभिन्न क्षेत्रबाट मन्दिरमा दर्शन गर्न आउने भक्तजनको भिड लागेको छ । बुधबार बिहानदेखि नै गलेश्वर शिवालय मन्दिरको दर्शन र पूजाआजा गर्न आएका भक्तजनहरुको भीड लागेको हो ।
शिवरात्रि पर्वको अवसर पारेर गलेश्वरधाममा भगवान शिव महादेवको स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गको पूजाअर्चना गर्न म्याग्दीसहित पर्वत, बागलुङ, कास्की, तनहुँ, चितवनलगायत जिल्लाबाट श्रद्धालु भक्तजन आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधबप्रसाद रेग्मीले बताए ।
गलेश्वर मन्दिर परिसरमा दिनभरजसो शिवजीको पूजा आराधना गर्ने र रातको समयमा बत्ती बालेर जाग्राम बस्ने, भजनकीर्तन गर्ने, धुनी जगाउने तथा भगवान् शिवको प्रिय मानिने महाप्रसाद ग्रहण गर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ । म्याग्दीमा गलेश्वर बाहेक बेनी शिवालय, बाबियाचौर, अर्मनको कैलाशफाट, दरवाङ लगायत जिल्लाका विभिन्न स्थानमा रहेका शिवालयहरुमा शिवरात्री पर्वको अवसरमा पूजाआजा गर्ने भक्तजनको भीड लागेको छ ।
पवित्र कालिगण्डकी नदी किनारमाथिको ९रोपनी क्षेत्रफलमा विशाल चक्रशिलामा फैलिएको गलेश्वर शिवालयमा पुजापाठ गर्न भक्तजनको घुइँचो लाग्ने गर्दछ । कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री गरी चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रुपमा शिवरात्रीको दिनलाई पुराणमा उल्लेख गरिएको छ । शिवरात्रीलाई सबै प्रकारका दुःख र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको वास गराउने शिवको अति प्यारो दिनका रूपमा लिइने प्रचलन समेत रहेको छ ।