म्याग्दीको बेनी नगरपालिका-९,गलेश्वरमा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वर शिवालय मन्दिरम महाशिवरात्रीमा दर्शन गर्न आएका दर्शनार्थी तथा भक्तजनहरुको लक्षित गरी राखिएको हेल्थडेक्सबाट डेढ सय लाभान्वित भएका छन् ।
स्वास्थ्य चौकी घतान र प्राथमिक उपचार केन्द्र गलेश्वरबाट खटिएका स्वास्थ्यकर्मीले मन्दिरमा पूजाआजा गर्न आएका भक्तजनहरूको स्वास्थ्यमा समस्या देखिएमा तत्काल उपचारमा सहज हुने गरी राखिएको हेल्थडेक्समा १ सय ८७ जनाको स्वास्थ्य परीक्षण गरिएको प्राथमिक उपचार केन्द्र गलेश्वरकी प्रमुख सिर्जना रकालले बताउनुभयो ।
हेल्थडेक्समा ब्लडप्रेसर,मधुमेह परीक्षण गरिएको थियो । विरामीको समस्या देखिएकालाई औषधि सेवन सहित थप उपचारका लागि समेत सिफारिस गरिएको जनाइएको छ ।
डेक्समा घतान स्वास्थ्य चौकीबाट सिनियर अनमी सुप्रिया केसी, सिनियर अहेव कल्पना सुबेदी ढुंगानाले समेत भक्तजनको चेकजाँच गर्नुभएको थियो । पवित्र कालिगण्डकी नदी किनारमाथिको ९रोपनी क्षेत्रफलमा विशाल चक्रशिलामा फैलिएको गलेश्वर शिवालयमा ठूला पर्वहरुमा हेल्थडेक्सबाट भक्तजनलाई सेवा दिने गरिन्छ ।