नेपाल सरकारले हरेक नागरिकको लागि अनिवार्य गरेको राष्ट्रिय परिचय बनाउन हतार गरेपनि छपाइ भएर आएका कार्ड लिन नजादाँ जिल्ला प्रशासन कार्यालय म्याग्दीमा २१ हजारभन्दा बढी राष्ट्रिय परिचय थन्किएका छन्।
राहदानी तथा विभिन्न सेवा लिन जिल्ला प्रशासनमा आएका सेवाग्राहीले राष्ट्रिय परिचयपत्रको फारम भरेको लामो समयसम्म पनि परिचयपत्र लिन नआएको २१ हजार ५ सय परिचयपत्र वितरण हुन सकेको छैन । जिल्ला प्रशासनमा अहिलेसम्म २७ हजार राष्ट्रिय परिचयपत्र तयार भएको कम्प्यूटर अपरेटर बिष्णु खत्रीले बताउनुभयो ।
‘सम्बन्धित ब्यक्तिले फारममा उल्लेख गरेको मोवाइलमा एसएमएस पनि जान्छ, हामीले फारम भर्ने बेलामै आफ्नो विवरण लिएर आउन जानकारी गराएका हुन्छौ’ कम्प्यूटर अपरेटर खत्रीले भन्नुभयो । परिचयपत्र लिनका लागि स्वयं व्यक्ति नै आउनुपर्ने र पुनःबायोमेट्रिक गर्नुपर्ने भएकाले परिचयपत्र वितरणको संख्या न्यून भएको भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
दैनिक नयाँ परिचयपत्रका लागि ६० देखि ८० जनाको विवरण संकलन हुन्छ भने वितरण दैनिक ३० देखि ४५ जना सेवाग्राहीको हुन्छ । प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले कार्यालयमा रहेका परिचयपत्रलाई स्थानीय तहसँग समन्वय गरी वडास्तरमै पुगेर वितरणका लागि आवश्यक पहल गरेको बताउनुभयो ।
‘परिचयपत्र चाङ लाग्दा भण्डारण गर्नुपरेको छ, आफ्नो परिचयपत्र लैजानुस् भनेर सूचना समेत गरिएको छ’ प्रजिअ ढकालले भन्नुभयो । फिङ्गर प्रिन्ट’ रुजु गर्न अनिवार्य र पिन नम्बर पनि रहेकाले विभागबाट आवश्यक उपकरण मागिएको छ ।
यसैबीच जिल्लाका ६ वटै स्थानीय तहको वडास्तरमै पुगेर सञ्चालित शिविरमा ३५ हजारभन्दा बढीको विवरण संकलन गरेपनि हालसम्म छपाइ भएर परिचयपत्र प्राप्त भएको छैन । शिविरमा जिल्ला प्रशासन कार्यालयमा कार्ड आउने जानकारी गराएपनि लामो समयसम्म नआउँदा सेवाग्राही रित्तै फकिने गरेको छन्।